खनालसँग लगानीकर्ताहरूको भेट: कर घटाउनेदेखि बोर्डको स्वायत्तता सुनिश्चित गर्न सुझाव
- BFIS News
- 2025 Sep 23 05:40
काठमाडौं, असोज ६ गते। वरिष्ठ लगानीकर्ता छोंटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एस.पी. चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले संयुक्त रूपमा अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी बधाई तथा पूँजी बजार सुधारका लागि सुझावहरू प्रस्तुत गरेका छन्।
नवगठित सरकारमा अर्थमन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा खनालको नियुक्तिलाई "सुखद अवसर" भन्दै उनीहरूले बधाई ज्ञापन गरेका हुन्। उनीहरूले खनालको बौद्धिक क्षमता, नीतिगत अनुभव तथा पूँजी बजारप्रति रहेको सकारात्मक दृष्टिकोणले सम्पूर्ण लगानीकर्ता समुदायमा आशा र विश्वास पैदा गराएको बताएका छन्।
भेटका क्रममा लगानीकर्ताहरूले हालैको राजनीतिक परिवर्तनपश्चात बजारमा देखिएको अनिश्चितता र आकस्मिक गिरावटबारे गम्भीर चिन्ता व्यक्त गर्दै सो समस्याको दीर्घकालीन समाधानका लागि सातबुँदे सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले खासगरी २०८२ असोज २ गते नेप्से खुल्ला भएको दिन १६० अंकभन्दा बढीको गिरावट र ७२ करोड रुपैयाँको मात्र कारोबार हुनुलाई गम्भीर चासोको विषय बताउँदै यसले लगानीकर्तामा अविश्वास र निराशा फैलाएको उल्लेख गरे।
प्रस्तुत प्रमुख सुझावहरू यसप्रकार छन्:
१. बैंक तथा वित्तीय संस्थालाई सेकेन्डरी मार्केटमा सहज कारोबारको अनुमति दिनु पर्ने।
विद्यमान नीतिगत प्रतिबन्धहरू हटाई बैंकहरूलाई दोश्रो बजारमा स्वेच्छा र विवेकपूर्ण रूपमा लगानी गर्न पाउने व्यवस्था मिलाउनु।
२. पुँजीगत लाभकर (CGT) दर घटाउनु पर्ने।
छोटो अवधिको कारोबारमा लाग्ने कर ७.५% बाट घटाई ५% र दीर्घकालीन कारोबारमा लाग्ने कर ५% बाट घटाई ३% कायम गरिनु पर्ने।
३. CGT लाई अन्तिम कर (Final Tax) को रूपमा स्पष्ट व्यवस्था गर्नु पर्ने।
वर्तमान अन्योलताको अन्त्य गर्दै आर्थिक ऐनमार्फत स्पष्ट कानुनी व्यवस्था गरिनु पर्ने।
४. व्यक्तिगत शेयर धितो कर्जा (Single Obligatory) सीमा हटाउनु पर्ने
२५ करोडको ऋण सीमा पूर्ण रूपमा खारेज गरि ऋण प्रवाहलाई सहज बनाउनु पर्ने।
५. लघुवित्त संस्थाको लाभांश वितरणमा लचिलोपन अपनाउनु पर्ने
२५% को सीमालाई हटाई वास्तविक नाफा र वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्न दिने व्यवस्था गरिनु पर्ने।
६. गैरआवासीय नेपाली (NRN) को लगानी सहज बनाउन कानुनी अड्चनहरू हटाउनु पर्ने
लगानी भित्र्याउने वातावरणलाई पारदर्शी, सहज र आकर्षक बनाउँदै, मुनाफा सजिलै विदेश लैजान सक्ने सुनिश्चितता प्रदान गरिनु पर्ने।
७. नेपाल धितोपत्र बोर्ड (SEBON) को स्वायत्तता सुनिश्चित गर्नु पर्ने
संस्थागत, नीतिगत र प्रशासनिक स्वतन्त्रता प्रदान गर्दै, बोर्डलाई सक्षम नियामक निकायका रूपमा विकास गर्नु पर्ने।
सहकार्यका लागि तत्परता
लगानीकर्ता प्रतिनिधिहरूले उक्त सुझावहरू अर्थ मन्त्रालयद्वारा प्राथमिकताका साथ सम्बोधन गरिनेमा विश्वास व्यक्त गर्दै सरकारसँग निरन्तर समन्वय र सहकार्यमा अगाडि बढ्न आफूहरू तयार रहेको जनाएका छन्।
अन्त्यमा, अर्थमन्त्री रामेश्वर खनाललाई नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना दिँदै, लगानीकर्ताहरूले नेपालको पूँजी बजार स्थायित्व, पारदर्शिता र दिगोपनातर्फ उन्मुख हुने आशा व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया