Nepal Life

प्रभु हेलिकोप्टरको नाफा र नगद प्रवाहमा उल्लेखनीय सुधार, ऋण धान्ने क्षमता बढ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 24 21:53
प्रभु हेलिकोप्टरको नाफा र नगद प्रवाहमा उल्लेखनीय सुधार, ऋण धान्ने क्षमता बढ्यो

काठमाडौं । प्रभु हेलिकोप्टरले ‘IRN BB- (Issuer)’ [डबल बी माइनस (इश्युअर)] रेटिङ प्राप्त गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार उक्त रेटिङले मध्यम स्तरको डिफल्ट जोखिम  रहेको संकेत गर्दछ।

Nepal Life
NIMB

यससँगै इन्फोमेरिक्स नेपालले कम्पनीको २.३२ मिलियन अमेरिकी डलर बराबरको दीर्घकालीन बैंक सुविधा र ३०४.७५ मिलियन रुपैयाँको दीर्घकालीन बैंक सुविधा लाई ‘IRN BB-’ तथा ६५.१० मिलियन रुपैयाँको अल्पकालीन बैंक सुविधा लाई ‘IRN A4’ रेटिङ प्रदान गरेको छ।

रेटिङ एजेन्सीका अनुसार प्रभु हेलिकोप्टरको करिब एक दशक लामो सञ्चालन अनुभव, अनुभवी सञ्चालक समिति, विविध व्यवस्थापकीय टोली तथा पछिल्ला वर्षहरूमा वित्तीय सूचकहरूमा देखिएको सुधारले कम्पनीको रेटिङलाई सकारात्मक आधार प्रदान गरेको हो। यद्यपि पर्यटन क्षेत्रको मौसमी प्रकृति, खुम्बु क्षेत्रमा उच्च राजस्व निर्भरता, इन्धन मूल्य तथा विदेशी विनिमय दरको उतारचढावले कम्पनीको समग्र जोखिमलाई अझै सीमित बनाएको उल्लेख गरिएको छ।

कम्पनी सन् २०१५ देखि सञ्चालनमा रहेको छ। अप्रिल २०२६ सम्म कम्पनीसँग दुईवटा एयरबस हेलिकोप्टर रहेका छन्। कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षता सुभाष अमात्यले गरेका छन्, जससँग बैंकिङ, ऊर्जा, बीमा, लगानी, पर्यटन तथा उड्डयन व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। दैनिक सञ्चालन प्रमुख सञ्चालन अधिकृत (COO) नोभेल कुमार राजलावतको नेतृत्वमा भइरहेको छ, जसले कम्पनीसँग आठ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका छन्। प्रवर्द्धकहरूले आवश्यक पर्दा निरन्तर वित्तीय सहयोग गर्दै आएको तथ्यलाई पनि रेटिङका लागि सकारात्मक पक्षका रूपमा लिइएको छ।

वित्तीय प्रदर्शनतर्फ हेर्दा कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गरेको देखिन्छ। हेलिकोप्टर चार्टर सेवा, हेलि–साइटसिइङ, मेडिकल उद्धार, पर्वतीय उद्धार, हवाई सर्वेक्षण लगायतका सेवाबाट आम्दानी गर्ने कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२१ को १२५ मिलियन रुपैयाँबाट बढेर आर्थिक वर्ष २०२३ मा ४१७ मिलियन रुपैयाँ पुगेको थियो। त्यसपछि एउटा हेलिकोप्टर लामो समय ग्राउन्डेड हुँदा आर्थिक वर्ष २०२४ मा आम्दानी करिब ३८ प्रतिशतले घटेर २६० मिलियन रुपैयाँमा सीमित भयो। उक्त हेलिकोप्टर बिक्रीपश्चात कम्पनीले आर्थिक वर्ष २०२५ मा पुनः सुधार गर्दै करिब ९.६४ प्रतिशत वृद्धिसहित २८५ मिलियन रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

नाफा र नगद प्रवाहमा समेत कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०२१ मा २१७ मिलियन रुपैयाँ खुद नोक्सानी बेहोरेको कम्पनीले त्यसपछिका वर्षहरूमा क्रमशः सुधार गर्दै आर्थिक वर्ष २०२५ मा १०० मिलियन रुपैयाँ खुद नाफा आर्जन गरेको छ। EBITDA मार्जिन पनि आर्थिक वर्ष २०२१ को नकारात्मक अवस्थाबाट सुधार हुँदै आर्थिक वर्ष २०२५ मा करिब ४६ प्रतिशत पुगेको छ। यससँगै ग्रस क्यास एक्रुअल (GCA) नकारात्मक ९९ मिलियन रुपैयाँबाट बढेर १०३ मिलियन रुपैयाँ पुगेको छ, जसले कम्पनीको सञ्चालन क्षमता सुदृढ हुँदै गएको संकेत गरेको छ।

पूँजी संरचना र ऋण धान्ने क्षमतामा पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२५ सम्म कम्पनीको समग्र गियरिङ अनुपात १.२४ गुणामा झरेको छ, जुन आर्थिक वर्ष २०२४ मा २.१७ गुणा थियो। त्यस्तै कुल बाह्य दायित्व तथा मूर्त खुद सम्पत्ति (TOL/TNW) अनुपात २.५२ गुणाबाट घटेर १.३१ गुणामा पुगेको छ। ब्याज भुक्तानी क्षमता (Interest Coverage Ratio) ३.०१ गुणा तथा ऋण सेवा क्षमता (DSCR) १.०७ गुणा पुगेको छ, जसले कम्पनीको ऋण तिर्ने क्षमता क्रमशः सुदृढ बन्दै गएको देखाउँछ।

रेटिङ एजेन्सीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले नयाँ हेलिकोप्टर कम्पनीका लागि न्यूनतम पुँजी, प्राविधिक जनशक्ति तथा न्यूनतम हेलिकोप्टर संख्यालगायतका कडा मापदण्ड तोकेको छ। यस्ता प्रवेश अवरोधहरूले प्रभु हेलिकोप्टरजस्ता स्थापित कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने भएकाले यसलाई सकारात्मक पक्षका रूपमा मूल्याङ्कन गरिएको छ।

यद्यपि कम्पनीको आम्दानी संरचनामा उच्च क्षेत्रीय निर्भरता प्रमुख चुनौतीका रूपमा देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत हिस्सा खुम्बु क्षेत्रबाट आएको थियो। मनास्लु क्षेत्रबाट करिब १० प्रतिशत, सिमिकोटबाट ८ प्रतिशत, कञ्चनजंघाबाट ५ प्रतिशत, उद्धार सेवाबाट ५ प्रतिशत तथा अन्य क्षेत्रबाट बाँकी आम्दानी प्राप्त भएको छ। हिमपहिरो, प्रतिकूल मौसम तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिम रहेको खुम्बु क्षेत्रमा अत्यधिक निर्भरता हुँदा कुनै पनि अवरोधले कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्न सक्ने इन्फोमेरिक्सले जनाएको छ।

त्यसैगरी कम्पनीको आम्दानी पर्यटन उद्योगको मौसमी चक्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ। विशेषगरी सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्मको ट्रेकिङ तथा आरोहण सिजनमा अधिकांश आम्दानी हुने गरेको छ। आर्थिक वर्ष २०२४ मा यी दुई अवधिबाट कुल आम्दानीको करिब ६१ प्रतिशत प्राप्त भएकोमा आर्थिक वर्ष २०२५ मा यो हिस्सा बढेर ६९ प्रतिशत पुगेको छ। यसले अफ–सिजनमा आम्दानी घट्ने जोखिम अझै कायम रहेको संकेत गर्छ।

इन्धन मूल्य र विदेशी विनिमय दरको उतारचढाव पनि कम्पनीका लागि अर्को महत्वपूर्ण जोखिम हो। आर्थिक वर्ष २०२५ मा उड्डयन इन्धन खर्च कुल आम्दानीको करिब ८ प्रतिशत बराबर रहेको छ। साथै कम्पनीसँग २.३२ मिलियन अमेरिकी डलर बराबरको दीर्घकालीन ऋण रहेको तथा स्पेयर पार्ट्स र मर्मतसम्भार खर्चको ठूलो हिस्सा अमेरिकी डलरमा हुने भएकाले नेपाली रुपैयाँ कमजोर हुँदा लागत बढ्ने जोखिम विद्यमान रहेको इन्फोमेरिक्सले जनाएको छ।

रेटिङ एजेन्सीका अनुसार आगामी दिनमा कम्पनीले आफ्नो आम्दानीका स्रोतहरू थप विविधीकरण गर्न सकेको, पर्यटन क्षेत्रबाहेक अन्य सेवा विस्तार गर्न सफल भएको तथा इन्धन मूल्य र विदेशी विनिमय दरको उतारचढावबीच पनि नाफा कायम राख्न सकेको अवस्था रेटिङका लागि मुख्य संवेदनशील पक्ष रहनेछ।

प्रभु हेलिकोप्टर लिमिटेड सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्सको व्यवसाय अधिग्रहणपछि स्थापना भएको हो। कम्पनी १४ जुलाई २०२२ मा पब्लिक लिमिटेडको रुपमा रूपान्तरण भएको थियो। काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीले हेलि–साइटसिइङ, मेडिकल इभ्याकुएसन, पर्वतीय उद्धार, हेरिटेज टुर, चार्टर उडान तथा अन्य विशेष हवाई सेवाहरू सञ्चालन गर्दै आएको छ। कम्पनीमा ५९ भन्दा बढी कर्मचारी कार्यरत छन् भने चुक्ता पुँजी ६३७.५ मिलियन रुपैयाँ पुगेको छ। कम्पनीका प्रमुख शेयरधनीमा सनराइज होल्डिङ लिमिटेड (३५.९३ प्रतिशत) र सुभाष अमात्य रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया