NIMB Header 2
Nepal Life

स्वावलम्बन लघुवित्तका दुई ट्रेड युनियनको संयुक्त आन्दोलनको चेतावनी, कर्मचारी अधिकार रक्षा र व्यवस्थापनको रवैयामाथि आपत्ति

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 16 11:10
स्वावलम्बन लघुवित्तका दुई ट्रेड युनियनको संयुक्त आन्दोलनको चेतावनी, कर्मचारी अधिकार रक्षा र व्यवस्थापनको रवैयामाथि आपत्ति
National Life

काठमाडौँ, असोज २७ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा क्रियाशील दुई ट्रेड युनियन स्वावलम्बन बैंक कर्मचारी संगठन र स्वावलम्बन विकास बैंक लि. कर्मचारी युनियनले संस्थाभित्रका कर्मचारीको हक, अधिकार र सम्मानको रक्षा गर्न तथा संस्थागत सुधारका लागि संयुक्त रूपमा अघि बढ्ने घोषणा गरेका छन्।

NIMB

दुवै युनियनले असोज २७ गते जारी गरेको संयुक्त विज्ञप्तिमा व्यवस्थापनको पछिल्ला निर्णयहरूले कर्मचारीको मनोबलमा गम्भीर असर पारेको भन्दै तत्काल सुधारका लागि माग गरेका छन्। उनीहरूले चेतावनी दिएका छन् — “कर्मचारीविरोधी कुनै पनि कदम अब सह्य हुने छैन, अन्याय र अधिकार हननविरुद्ध अन्तिम क्षणसम्म संघर्ष गर्नेछौं।”

विज्ञप्तिअनुसार, व्यवस्थापनले अन्यायपूर्ण सरुवा, अवास्तविक लक्ष्य निर्धारण, कार्यस्थलमा दवाव सिर्जना, मौलिक हकमा हस्तक्षेप, र कर्मचारी सुविधामा कटौतीजस्ता गतिविधि गर्दै आएको आरोप लगाइएको छ। युनियनहरूले यी कार्यले संस्थाभित्र श्रम अधिकार र विश्वासको वातावरण नष्ट गरिरहेको बताएका छन्।

संयुक्त विज्ञप्तिमा तत्काल समाधान गर्नुपर्ने १५ बुँदे मागसमेत सार्वजनिक गरिएको छ। तीमध्ये केही प्रमुख मागहरू यस्ता छन्—

नेपाल सरकारले तोकेको नयाँ न्यूनतम ज्याला २०८२ साउनदेखि लागू गर्नुपर्ने,

आकस्मिक विदाको दिन काम गरेवापत १५ दिनको पारिश्रमिक प्रदान गर्नुपर्ने,

सेवा विनियमावलीअनुसार अनिवार्य विदामा बस्दा तलब, भत्ता र रोड भुक्तानी उपलब्ध गराउनुपर्ने,

१५ किलोमिटरभन्दा टाढा बसोबास गर्ने कर्मचारीलाई घरभाडा सुविधा दिनुपर्ने,

दशैं पेस्कीमा समायोजन भत्ता दिनुपर्ने,

बोनस ऐनअनुसार आ.व. २०७९/८० र २०८०/८१ को बोनस तत्काल वितरण गर्नुपर्ने,

कर्मचारीविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्नुपर्ने,

दुवै युनियनका प्रतिनिधिलाई केन्द्रीय कार्यालयमा राख्नुपर्ने,

शनिबार वा सार्वजनिक बिदाको दिन तालिम नराख्नुपर्ने,

१८०० भन्दा बढी सदस्य भएका शाखामा लेखा हेर्ने कर्मचारी अनिवार्य तोक्नुपर्ने।

विज्ञप्तिमा भनिएको छ, “व्यवस्थापनले कर्मचारीको आवाज सुन्ने प्रयास नगरे आन्दोलनका चरणवद्ध कार्यक्रम सञ्चालन गर्न बाध्य हुनेछौं।” साथै, अनावश्यक दवाव, अपमानजनक व्यवहार र पारदर्शिताविहीन भर्ति प्रक्रियाको तत्काल अन्त्य गर्न माग गरिएको छ।

दुवै युनियनका तर्फबाट स्वावलम्बन विकास बैंकका कर्मचारी युनियनका महासचिव सूर्य सुवेदी र स्वावलम्बन बैंक कर्मचारी संगठनका कार्यबहाक महासचिव रोशन तिमल्सिना ले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी वार्ता र सहमतिबाट समाधान खोज्न तयार छौं, तर यदि व्यवस्थापनले कर्मचारीविरोधी रवैया निरन्तर राखे भने त्यसवाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी व्यवस्थापनले नै वहन गर्नुपर्नेछ।”

विज्ञप्तिले अन्त्यमा सम्पूर्ण कर्मचारीहरूलाई “एकता र ऐक्यबद्धतामा आधारित न्यायपूर्ण आन्दोलनका लागि तयार रहन” आह्वान गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार