२० करोड पुँजी भएका ब्रोकरले मात्र मार्जिन कारोबार सेवा दिन पाउने, नेटवर्थको ५ गुणासम्म लिमिट
- BFIS News
- 2025 Nov 24 20:49
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७(१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले नयाँ निर्देशिका तयार पारेको हो।
बोर्डले उक्त मस्यौदामा राय–सुझाव हुन सके सात दिनभित्र बोर्डको इमेलमा पठाउन आग्रह गरेको छ। निर्देशिका लागू भएसँगै मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज हुने छ।
२० करोड पुँजी भएका ब्रोकर मात्र मार्जिन सेवा दिन पाउने
नयाँ मस्यौदामा ब्रोकरहरुलाई मार्जिन कारोबार सुविधा सञ्चालन गर्न कडा मापदण्ड प्रस्ताव गरिएको छ।
-
२० करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजी भएका ब्रोकरले मार्जिन कारोबार सुविधा दिन नपाउने व्यवस्था राखिएको छ।
-
ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मात्रै मार्जिन कर्जा दिन सक्ने छन्।
-
कुनै एक ग्राहक वा सोही घरपरिवारका सदस्यलाई नेटवर्थको अधिकतम २० प्रतिशत मात्र मार्जिन सुविधा दिन पाइनेछ।
मार्जिन कारोबार सुरु गर्न धितोपत्र बजारबाट अनिवार्य सहमति
मार्जिन सेवा सुरु गर्नुअघि ब्रोकरले
-
1. लेखापरीक्षकले प्रमाणित गरेको आर्थिक विवरणसहित धितोपत्र बजारमा सहमति लिनुपर्ने,
-
2. बजारले अध्ययन गरी सहमति प्रदान गरेपछि बोर्डलाई जानकारी गराउनु पर्ने,
-
3. यसअघि नै सहमति लिइसकेकाहरूले पुनः सहमति लिनु नपर्ने तर योग्यताको कागजात बुझाउनुपर्ने जस्ता प्रावधान राखिएको छ।
प्रारम्भिक (Initial) र सम्भार (Maintenance) मार्जिन कडा
नयाँ नियमअनुसार—
-
व्यवस्थित संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्य (जुन कम हुन्छ) को आधारमा अनुसूची–१ अनुसारको प्रतिशत लागेर प्रारम्भिक मार्जिन लिनुपर्नेछ।
-
प्रारम्भिक तथा मार्जिन सुविधा अन्तर्गत खरिद भएका शेयरहरू दैनिक मार्क–टु–मार्केट आधारमा मूल्यांकन गर्नुपर्नेछ।
-
बजार जोखिम र ग्राहक मूल्यांकनका आधारमा ब्रोकरले थप मार्जिन पनि माग गर्न सक्ने व्यवस्था छ। सेवालाभार्थीले निरन्तर सम्भार मार्जिन अनुसूची–२ अनुसार कायम राख्नै पर्नेछ।
मार्जिन कल र शेयर बिक्री प्रक्रिया स्पष्ट
शेयर मूल्यमा गिरावट आएर सम्भार मार्जिन कायम राख्न नसकेमा—
-
ब्रोकरले मार्जिन कल गर्नुपर्नेछ।
-
मार्जिन थपेर नआएमा ब्रोकरले शेयर बिक्री गर्न सक्नेछ।
-
यस्तो बिक्रीपछि ग्राहकसँग हिसाब फछ्र्योट गरी बजारलाई जानकारी गराउनु पर्नेछ।
-
आवश्यकता परेमा ग्राहकका "ए" वा "बी" वर्गका शेयरलाई धितो (६०% मूल्य मान्यता) राख्न सकिने सुविधा पनि मस्यौदामा समावेश छ।
मार्जिन सुविधा दिन स्रोत व्यवस्थापनमा कडाइ
ब्रोकरहरूले—
-
आफ्नै स्रोत,
-
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण,
-
आफ्ना शेयरधनी वा सञ्चालकबाट लिएको असुरक्षित ऋण प्रयोग गर्न सक्ने व्यवस्था छ।
-
तर, ब्रोकरले बैंक तथा शेयरधनी/सञ्चालकबाट लिएको असुरक्षित ऋणको जम्मा रकम नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नपाउनेछ।
-
यसबाहेक, एक ग्राहकको नगद वा शेयर अर्को ग्राहकका लागि प्रयोग गर्न कडाईका साथ निषेध गरिएको छ।
मार्जिन खाता र राफसाफ प्रणाली व्यवस्थित
लगानीकर्ताले
-
छुट्टै मार्जिन ट्रेडिङ खाता
-
तथा मार्जिन ट्रेडिङ डिम्याट खाता खोल्नुपर्नेछ।
ब्रोकरले
-
केन्द्रीय निक्षेप कम्पनीमा राफसाफ प्रयोजनका लागि छुट्टै खाता,
-
पावर अफ अटर्नीको व्यवस्था,
-
राफसाफ तथा शेयर बिक्री प्रक्रियामा पारदर्शिता—
-
जस्ता विषय समेटेर कार्यप्रणाली बनाउनु पर्नेछ।
दैनिक विवरण प्रकाशन अनिवार्य
धितोपत्र दलाल व्यवसायीले
-
कारोवार भएको शेयरको विवरण भोलिपल्ट १२ बजेभित्र धितोपत्र बजारलाई दिनुपर्ने,
-
बजारले दैनिक कारोबारपछि अनुसूची–४ अनुसार विवरण वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने,
-
वार्षिक लेखापरिक्षण अनिवार्य गरी तीन महिनाभित्र बोर्ड र बजारलाई बुझाउनुपर्नेछ।
ग्राहक जोखिम मूल्याङ्कन र गुनासो समाधानमा बलियो व्यवस्था
सेवाप्रदायक ब्रोकरले—
-
परिस्कृत ग्राहक मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने,
-
ग्राहकसँग विशेष मार्जिन सम्झौता गर्नुपर्ने,
-
गुनासो सुन्ने व्यवस्था राख्नुपर्ने,
-
जस्ता विषयलाई निर्देशिकाले प्राथमिकताका साथ समेटेको छ।
मार्जिन कारोबारमा एकरूपता ल्याउने लक्ष्य
सेबोनले मार्जिन कारोबारलाई पारदर्शी, सुरक्षित र एकरूप बनाउने उद्देश्यले यो मस्यौदा सार्वजनिक गरेको बताइएको छ। धितोपत्र बजार र ब्रोकरहरूले पनि कारोबार प्रणाली, कार्यविधि र जोखिम व्यवस्थापन प्रभावकारी बनाउँदै निर्देशिका लागू गर्ने तयारी गर्नुपर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया