इन्डोनेसियामा भीषण बाढी–पहिरो: १६४ जनाको मृत्यु, ७९ जना अझै बेपत्ता
- BFIS News
- 2025 Nov 29 17:03
जकार्ता, मंसिर १३ गते। इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार परेको मनसुनी वर्षापछि आएको भीषण बाढी र पहिरोमा परी मृतकको संख्या १६४ पुगेको छ। ७९ जना अझै बेपत्ता रहेका छन् भने उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
बाढीले सडक तथा संरचनामा ठूलो क्षति पुर्याएपछि आवश्यक उपकरणको अभावमा उद्धार टोलीले कठिनाइ भोगिरहेको इन्डोनेसियाली अधिकारीहरूले विज्ञप्तिमार्फत जनाएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (BNPB) ले सुरुवाती रूपमा १७४ जनाको मृत्यु रिपोर्ट गरे पनि पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या १६४ मा परिमार्जन गरिएको हो।
एजेन्सीका प्रमुख सुहारियान्तोका अनुसार उत्तरी सुमात्रा प्रान्तमा मात्रै ११६ जनाको मृत्यु भएको छ। टापुको पश्चिमी क्षेत्रबाट थप २३ जनाको शव बरामद गरिएको उनले बताए। उनका अनुसार उत्तरी सुमात्राका १२ सहर तथा जिल्लामा उद्धार टोली पुग्न कठिनाइ भएको छ।
बाढीका कारण १७ हजारभन्दा बढी घर डुबानमा परेका छन् र लगभग २३ हजार मानिस विस्थापित भएका छन्। उष्णकटिबन्धीय चक्रवात ‘सिनियार्ट’ को प्रभावले मनसुनी वर्षा तीव्र बनेपछि नदीहरूले खतराको सतह पार गरेका थिए, जसका कारण धेरै पहाडी बस्ती बगाएको जनाइएको छ।
बाढीले तीन हजार २०० भन्दा बढी सरकारी भवन तथा संरचना डुबानमा परेपछि अस्थायी रूपमा त्यहाँ बस्दै आएका तीन हजार परिवार समेत विस्थापित भएका छन्। धानबाली, गाईबस्तु तथा सार्वजनिक संरचना नष्ट भएपछि स्थानीयको दैनिक जीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको अधिकारीहरूले जनाएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया