रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्ने
- BFIS News
- 2025 Dec 06 16:11
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायबाट आवश्यक श्रम स्वीकृति प्राप्त गरेपछि सार्वजनिक निष्काशन प्रक्रिया सुरु गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगार श्रेणीअन्तर्गत कुल १० प्रतिशत साधारण शेयर, अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बोलकबोल प्रणालीमार्फत निर्धारण भएको मूल्यअनुसार प्रतिशेयर ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।
यसअघि बुक–बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूलाई गरिएको शेयर बाँडफाँटमा कट–अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सो मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारण तथा वैदेशिक रोजगारतर्फका लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ताबाट आवेदन दिन सक्नेछन् भने अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। निष्काशन अवधि छिटोमा मंसिर २५ गते बन्द हुनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिनेछ।
यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सी–आस्बा सेवायुक्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा, तथा सिडिएस एण्ड क्लियरिङको ‘मेरो शेयर’ प्लेटफर्ममार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
शेयर मुद्दतीकरणका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङलाई ‘CARE NP Single A–’ इश्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै वहन गर्न सक्षम रहेको संकेत गर्दछ।
नेपालका प्रमुख धागो उत्पादन उद्योगमध्ये परेको कम्पनीले रोजगारका हिसाबले पनि सबैभन्दा ठूलो उद्योगको रूपमा परिचित छ। यसले आफ्नो ७०–७५ प्रतिशत उत्पादन भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।
कम्पनीको मुख्य उद्योग ‘ए’ सुनसरीको इटहरी नगरपालिका–१२, खनारमा रहेको छ भने शाखा उद्योग ‘बी’ इटहरी नगरपालिका–४, दुहबीमा अवस्थित छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया