Nepal Life

कालीगण्डकी करिडोरपछि बागलुङ भारत–चीन जोड्ने व्यापारिक हब बन्ने सम्भावना : ढकाल

NMB Bank
  • BFIS News
  • 2025 Dec 29 18:39
कालीगण्डकी करिडोरपछि बागलुङ भारत–चीन जोड्ने व्यापारिक हब बन्ने सम्भावना : ढकाल
United Ajod

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ जिल्ला आगामी दिनमा भारत र चीनलाई जोड्ने महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकास हुने प्रबल सम्भावना रहेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

बागलुङको बाँगेचौर खेल मैदानमा सुरु भएको ८औँ बागलुङ महोत्सव–२०८२ को उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले निर्माणाधीन कालीगण्डकी करिडोर सम्पन्न भएपछि बागलुङ विश्वका दुई ठूला अर्थतन्त्रलाई जोड्ने रणनीतिक व्यापारिक हब बन्न सक्ने उल्लेख गरे। यसले लगानी, व्यापार तथा क्षेत्रीय आर्थिक विकासका नयाँ अवसरहरू सिर्जना गर्ने उनले बताए।

स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता महोत्सव तथा व्यापार मेलाहरूले उद्यमी र बजारबीच सेतुको काम गर्ने अध्यक्ष ढकालको भनाइ थियो। उनका अनुसार यस्ता कार्यक्रमहरूले आर्थिक गतिविधि विस्तार, व्यवसायिक वातावरण सुदृढीकरण तथा राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।

अध्यक्ष ढकालले सरकारले महासंघको आग्रहलाई सकारात्मक रूपमा सम्बोधन गर्दै माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकसँग लिइने शुल्क घटाउनुका साथै सडक तथा भन्सारसम्बन्धी सुधारका कदम चालेको उल्लेख गरे। ती निर्णयले कोरोला नाकामार्फत हुने व्यापार र पर्यटन विस्तारमा नयाँ गति दिएको उनले बताए।

कोरोला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यस क्षेत्रको समग्र आर्थिक गतिविधि, पर्यटन प्रवर्द्धन तथा स्थानीय र क्षेत्रीय आर्थिक विकासमा अत्यन्तै सकारात्मक प्रभाव पर्ने महासंघको दृढ विश्वास रहेको अध्यक्ष ढकालले स्पष्ट पारे।

कार्यक्रमको अन्त्यमा उनले महासंघ स्थानीय उद्यमको प्रवर्द्धन गर्दै सशक्त, प्रतिस्पर्धी र समावेशी नेपाली अर्थतन्त्र निर्माणमा निरन्तर प्रतिबद्ध रहेको पनि बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया