NIMB Header 2
Nepal Life

सहमतिका सबै ढोका बन्द गर्दै देउवा नेतृत्वद्वारा गगन विश्वप्रकाशसहित कारबाही

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 14 16:41
सहमतिका सबै ढोका बन्द गर्दै देउवा नेतृत्वद्वारा गगन विश्वप्रकाशसहित कारबाही
National Life

काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सहमतिमा टुंग्याउने प्रयास असफल बनेको छ। सहमतिका सबै ढोका बन्द गर्दै सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत नेतामाथि कारबाही गरेपछि कांग्रेसको आन्तरिक राजनीति थप चर्किएको छ।

Shikhar
NIMB

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी निर्णय विपरीत गतिविधि गरेको, विशेष महाधिवेशन आह्वान गरेको तथा संगठनात्मक अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै महामन्त्रीद्वयमाथि कारबाही गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयले जनाएको छ। बैठकको निर्णय सार्वजनिक भएसँगै कांग्रेसभित्रको सत्ता संघर्ष खुला रूपमा सतहमा आएको छ।

पार्टी एकता जोगाउने नाममा अन्तिम क्षणसम्म वार्तालाई प्राथमिकता दिँदै आएका थापा र शर्माले पटक–पटक लचकता प्रदर्शन गर्दै सहमतिका लागि प्रतिक्षा गरिरहँदा पनि संस्थापन पक्षले कठोर कदम चालेको भन्दै असन्तुष्टि बढेको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्वको यो कदमलाई असहिष्णु र एकपक्षीय निर्णयको संज्ञा दिएका छन्।

विशेष महाधिवेशन पक्षधरका अनुसार देशभरिबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरिरहेका छन्। यही जनदबाबलाई आत्मसात् गर्दै महामन्त्रीद्वयले टकरावको बाटोभन्दा संवाद र सहमतिलाई अघि बढाउने रणनीति अपनाएका थिए। तर, ती सबै प्रयासलाई बेवास्ता गर्दै देउवा पक्षले कारबाहीको निर्णय गरेपछि अब नयाँ कार्यसमिति गठनतर्फ जानु बाध्यकारी भएको उनीहरूको निष्कर्ष छ।

कारबाहीपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन नयाँ कार्यसमिति गठन गर्ने तयारी तीव्र पारेका छन्। काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको बताइएको छ।

कांग्रेसभित्रको यो घटनाक्रमले पार्टीको भविष्य, संगठनात्मक एकता र आगामी राजनीतिक दिशामाथि गम्भीर प्रश्न खडा गरेको छ। एकातर्फ संस्थापन पक्ष अनुशासन र विधानको पक्षमा उभिएको दाबी गरिरहेको छ भने अर्कोतर्फ असन्तुष्ट पक्षले बहुमत प्रतिनिधिको आवाज दबाइएको आरोप लगाइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सहमतिका सम्भावना समाप्त हुँदै जाँदा कांग्रेसभित्र विभाजनको रेखा अझ स्पष्ट हुँदै गएको छ। अब विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन हुन्छ र त्यसले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने विषयले नेपाली राजनीतिमा गहिरो प्रभाव पार्ने देखिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया