Nepal Life

जीवन बीमा कम्पनीहरूको व्यवसाय १४.७३ प्रतिशतले वृद्धि, कुल बीमा शुल्क १ खर्ब २४ अर्ब नाघ्यो, कसको कति?

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 16:04
जीवन बीमा कम्पनीहरूको व्यवसाय १४.७३ प्रतिशतले वृद्धि, कुल बीमा शुल्क १ खर्ब २४ अर्ब नाघ्यो, कसको कति?
National Life

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले उक्त परिमाणको बीमा शुल्क संकलन गरेका हुन्।

Shikhar
NIMB

प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय १४.७३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरूले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। यसले जीवन बीमा क्षेत्रको विस्तार तीव्र गतिमा भइरहेको देखिएको छ।

कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् भने वृद्धि दरका हिसाबले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स अगाडि देखिएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै अग्रस्थान कायम राखेको छ। कम्पनीको व्यवसाय गत वर्षको तुलनामा १२.१७ प्रतिशतले बढेको छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १०.०८ प्रतिशतले वृद्धि गर्दै १५ अर्ब २१ लाख रुपैयाँ आर्जन गरेको छ भने एलआइसी नेपालले ७.१६ प्रतिशत वृद्धि गरी १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ।

यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ४.४० प्रतिशतले बढेर ११ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले उल्लेख्य ९५.१९ प्रतिशतको वृद्धि गर्दै ८ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा शुल्क ११.११ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले १२.०५ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क १८.६१ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.९५ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ७६ करोड रुपैयाँ पुर्‍याएको छ। आइएमई लाइफ इन्स्योरेन्सले ३०.३५ प्रतिशतको वृद्धि हासिल गर्दै ४ अर्ब २८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, मेट लाइफ नेपालको बीमा शुल्क ९.५५ प्रतिशतले बढेर ४ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३.०८ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १४.७० प्रतिशतले बढेर ३ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ पुर्‍याएको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३.६७ प्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया