सालपा विकास बैंकको पहिलो कारोबार ३०३.६ रुपैयाँबाट सुरु हुने, कतिसम्म पुग्ला बैंकको शेयर मूल्य ?
- BFIS News
- 2026 Jan 17 13:56
काठमाडौं। सालपा विकास बैंक लिमिटेडको पहिलो सेयर कारोबार ३०३.६ रुपैयाँबाट सुरु हुने भएको छ। नेप्सेको सूचिकरण नियमावली अनुसार पहिलो कारोबार न्यूनतम प्रतिशेयर नेटवर्थ बराबर र अधिकतम सोको तीन गुणासम्मको मूल्य दायरामा गर्न पाइने व्यवस्था छ। यही व्यवस्थाअनुसार बैंकको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ १०१.२ रुपैयाँ रहेकाले पहिलो कारोबार ३०३.६ रुपैयाँसम्म हुन सक्ने देखिएको हो।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो। यसअघि बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिसकेको थियो।
साल्पा विकास बैंकले सर्वसाधारण लगानीकर्ताका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो। बैंकको आईपीओ नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको छ। सूचिकरणपछि नेप्सेले बैंकलाई कारोबारका लागि ‘सिम्बोल’ र मूल्य दायरा (रेञ्ज) प्रदान गर्नेछ।
बैंकको जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ। यसमध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। सर्वसाधारण तर्फको निष्कासनमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई बाँडफाँट भइसकेको छ। त्यसैगरी, ०.५ प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कम्पनीका कर्मचारीका लागि र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको थियो। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि थियो।
आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ वटा योग्य आवेदनबाट २ करोड ५४ लाख ७७ हजार २६० कित्ता शेयरको माग परेको थियो। यस्तै, ३४ हजार ५९७ वटा आवेदनबाट ४ लाख २८ हजार ६६० कित्ता शेयरका लागि अयोग्य ठहर भएका थिए। बाँडफाँट नतिजाअनुसार १ लाख ४३ हजार ९१७ जना आवेदकले १० कित्ता शेयर पाएका छन् भने ९ जना आवेदकले थप १ कित्ता सहित जम्मा ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कतिसम्म पुग्ला बैंकको शेयर मूल्य ?
हाल दोस्रो बजारमा कारोबार भइरहेका १६ वटा विकास बैंकमध्ये साल्पा विकास बैंकको चुक्ता पूँजी सबैभन्दा कम रहनेछ। अहिले विकास बैंकहरूमध्ये सबैभन्दा धेरै शेयर मूल्य कर्पोरेट डेभलपमेन्ट बैंकको रहेको छ, जसको शेयर मूल्य करिब १ हजार ५७१ रुपैयाँ रहेको छ। उक्त बैंकको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ मात्र छ।
त्यस्तै, दोस्रो उच्च शेयर मूल्य भएको नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १ हजार ३४६ रुपैयाँ रहेको छ, जसको चुक्ता पूँजी पनि करिब ५२ करोड ४९ लाख रुपैयाँ छ। ६१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १ हजार ११७ रुपैयाँ छ।
साल्पा विकास बैंकको चुक्ता पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेकाले पूँजी संरचना र अन्य विकास बैंकहरूको बजार मूल्यलाई आधार मान्दा यसको शेयर मूल्य पनि सूचिकरणपछिको कारोबारमा १ हजार १०० रुपैयाँदेखि १ हजार ५०० रुपैयाँको दायरामा पुग्न सक्ने अनुमान बजार विश्लेषकहरूले गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)







प्रतिक्रिया