बिएफआइएस न्युज र इप्पानको सहकार्यमा जलविद्युत् लगानी अध्ययन प्रतिवेदन सार्वजनिक, १४ खर्ब माथिको लगानी
- BFIS News
- 2026 Jan 18 12:11
काठमाडौं । बिएफआइएस न्युज र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को सहकार्यमा सम्पन्न “Investment in Hydropower Sector in Nepal” शीर्षकको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। इप्पानको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन्। अध्ययनको नेतृत्व बिएफआइएस न्युजका अरुण सापकोटाले गरेका हुन्।
प्रतिवेदनले नेपालको जलविद्युत् क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय विस्तार हासिल गरेको देखाएको छ। इप्पान र BFIS NEWS प्रा.लि.को संयुक्त सहकार्यमा सम्पन्न यस अध्ययनले जलविद्युत् क्षेत्रको वर्तमान अवस्था, विकासक्रम, वित्तीय संरचना तथा सार्वजनिक र निजी क्षेत्रको लगानी भूमिकाको विस्तृत विश्लेषण प्रस्तुत गरेको छ।
आर्थिक वर्ष २०८१/८२ सम्मको तथ्याङ्कका आधारमा नेपालमा हाल सञ्चालन, निर्माण, विकास तथा सर्वेक्षणका विभिन्न चरणमा रहेका कुल ९२३ वटा जलविद्युत् आयोजना रहेका छन्। यी आयोजनामा करिब १३.१ खर्ब रुपैयाँ बराबरको कुल लगानी रहेको प्रतिवेदनले देखाएको छ।
हाल सञ्चालनमा रहेका तथा निर्माणाधीन ३४७ वटा आयोजनाबाट कुल ७,२५१ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ, जसमा करिब १२.४४ खर्ब रुपैयाँ लगानी भइसकेको छ। त्यस्तै, सर्वेक्षण, अध्ययन, डिजाइन तथा इजाजतपत्र प्रक्रियामा रहेका ५७६ वटा आयोजनाको सम्भावित क्षमता २७,५३५ मेगावाट रहेको छ, जसका लागि करिब ६६.६२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
प्रतिवेदनले सरकारी लगानीको भूमिकालाई पनि विशेष रूपमा उजागर गरेको छ। नेपाल विद्युत् प्राधिकरण (NEA) ले प्रवर्द्धन गरेका करिब १७ वटा आयोजनामा मात्रै करिब १०१ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उल्लेख छ।
जलविद्युत् वित्तपोषणमा बैंक तथा वित्तीय संस्थाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको तथ्य प्रतिवेदनले देखाएको छ। सन् २०२५ अगस्टसम्म जलविद्युत् क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह ४४७.४६ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल कर्जा प्रवाह ५,५६३.५३ अर्ब रुपैयाँको ठूलो हिस्सा हो। सन् २००९ जुलाईमा जलविद्युत् क्षेत्रमा बैंक कर्जा केवल २.७६ अर्ब रुपैयाँ मात्र रहेको अवस्थासँग तुलना गर्दा यस क्षेत्रको महत्व राष्ट्रिय वित्तीय प्रणालीमा उल्लेखनीय रूपमा बढेको स्पष्ट हुन्छ। प्रत्यक्ष वैदेशिक लगानी (FDI) आधारित कर्जा करिब ५४.५६ अर्ब रुपैयाँ रहेको छ भने नागरिक लगानी कोष (CIT), कर्मचारी सञ्चय कोष (EPF) लगायतका संस्थाबाट करिब ६६.६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।
पुँजी बजारमार्फत पनि जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी आकर्षित भएको छ। राष्ट्रिय जलविद्युत् कम्पनीको पहिलो आईपीओपछि हालसम्म ९३ वटा कम्पनीले आईपीओ जारी गरी ४१.६५ अर्ब रुपैयाँ संकलन गरेका छन्। साथै, ४३ वटा कम्पनीले हकप्रद शेयरमार्फत ५६.३२ अर्ब रुपैयाँ जुटाएका छन्। सूचीकृत जलविद्युत् कम्पनीहरूको कुल इक्विटी १७४.५४ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिवेदनले जलविद्युत् क्षेत्र नेपालको दीर्घकालीन ऊर्जा विकास, पूर्वाधार विस्तार तथा आर्थिक समृद्धिका लागि अत्यन्त महत्वपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ। बैंक कर्जा, पुँजी बजार तथा सरकारी निजी साझेदारीमार्फत भइरहेको लगानीले ऊर्जा आत्मनिर्भरता र विद्युत् निर्यात क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया