गृहमन्त्रीद्वारा तार्केश्वरस्थित मतदान स्थलको अनुगमन
- BFIS News
- 2026 Mar 04 16:53
काठमाडौँ (Kathmandu), फागुन २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौँ क्षेत्र नं. ६ का मतदान स्थलको अनुगमन गर्नुभएको छ । बुधबार गरिएको अनुगमनका क्रममा उहाँले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन दिनुभयो ।
मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा दैनिक रूपमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेर निर्वाचनसँग सम्बन्धित गतिविधिको समीक्षा, रणनीति निर्धारण, जनशक्ति परिचालन तथा समन्वयको काम प्रभावकारी बनाइएको जनाइएको छ ।
निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचनअघि, निर्वाचनका अवधिमा तथा निर्वाचनपश्चात् मतपत्र ढुवानीदेखि परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत काम भइरहेको मन्त्रालयले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया