NIMB Header 2
Nepal Life

कामना सेवा विकास बैंकको नाफामा २२.३४% वृद्धि, सेयर बजारमा पनि सकारात्मक संकेत

National Life
  • BFIS News
  • 2026 Jan 20 08:55
कामना सेवा विकास बैंकको नाफामा २२.३४% वृद्धि, सेयर बजारमा पनि सकारात्मक संकेत
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको (पुस मसान्तसम्मको) अपरिक्षित वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ। बैंकले यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३२ करोड २४ लाख रुपैयाँको तुलनामा २२.३४ प्रतिशतले बढी हो।

Shikhar
NIMB

बैंकको खुद ब्याज आम्दानी पनि सुधारिएको छ। अघिल्लो वर्ष एक अर्ब ८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ४.७४ प्रतिशतले घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यस्तो प्रावधान १९ करोड ६४ लाख रुपैयाँ राखिएको थियो। कर्जा प्रावधान घट्दा बैंकको नाफा बढ्न थप सहयोग पुगेको देखिन्छ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। सञ्चित नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यद्यपि वितरणयोग्य नाफा भने २१.२५ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकको कर्जा तथा लगानी ४.०६ प्रतिशतले बढेर ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

मुख्य सूचकहरू हेर्दा बैंकको प्रतिशेयर आम्दानी २०.४३ रुपैयाँ रहेको छ। सेयर मूल्य आम्दानी अनुपात (P/E Ratio) २२.१७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १२.५७ प्रतिशत रहेको छ।

निष्क्रिय कर्जाको अवस्थामा पनि क्रमिक सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा पुस मसान्तमा घटेर ४.१० प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले हालै निस्क्रिय कर्जाको वर्गीकरणसम्बन्धी व्यवस्था खुकुलो बनाएपछि बैंकहरूलाई कर्जा प्रावधानमा केही राहत मिलेको छ। 

यसैबीच, आइतबार समग्र सेयर बजार ३२ अंकले बढ्दा कामना विकास बैंकको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि भएको छ। बैंकको नाफामा सुधारको संकेत देखिएसँगै लगानीकर्ताहरूको चासो बढेको देखिन्छ। बजारमा बैंक तथा वित्तीय संस्थाहरूको करिब ६० प्रतिशत हिस्सा रहेकाले सकारात्मक वित्तीय विवरणले समग्र बजारमा पनि प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

प्राविधिक विश्लेषणका आधारमा पनि कामनाको सेयर मूल्यले ‘थ्री आउटसाइड अप बुलिस’ प्याटर्न बनाउने संकेत गरिरहेको छ। गत बुधबार सानो शरीर भएको रातो मैनबत्ती बनेको थियो भने आइतबार लामो शरीर भएको हरियो मैनबत्ती बनेको छ, जसले अघिल्लो दिनको रातो मैनबत्तीलाई पूर्ण रूपमा ढाकेको छ। यदि मंगलबार सेयर मूल्य आइतबारको सुरुआती मूल्य ४५० रुपैयाँभन्दा माथि खुलेर बजार बन्द हुँदा ४७२ रुपैयाँभन्दा माथि पुगेमा मूल्य थप बढ्ने सम्भावना बलियो हुने विश्लेषण गरिएको छ।

वित्तीय विवरणका आधारमा बैंकले हालको कमाइ कायम राखेमा वर्षको अन्त्यसम्म वार्षिकीकृत रूपमा करिब १५ प्रतिशत हाराहारी लाभांश दिन सक्ने देखिन्छ। बैंकले आर्थिक वर्ष २०८१/८२ मा १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो भने पछिल्लो पाँच वर्षको औसत लाभांश ११.३० प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया