NIMB Header 2
Nepal Life

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

National Life
  • BFIS News
  • 2026 Jan 21 18:30
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
Sanima Reliance

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभापछि बैंकको सञ्चालक समितिबाट अलग भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो।

Shikhar
NIMB

सिबिफिनको विधानअनुसार परिसंघको कार्यसमितिमा पदाधिकारी वा सदस्य रहेका व्यक्ति आफूले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएमा सिबिफिनमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अध्यक्ष पद रिक्त भएपछि कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा मनोनीत गरेको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठ नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका एक अग्रणी व्यक्तित्व हुन्। उनी यसअघि सिबिफिनको महासचिव पदमा कार्यरत थिए।

अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले आफूमाथि विश्वास र भरोसा गरी सिबिफिन जस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गरे। उनले सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको विरासतलाई अक्षुण्ण राख्दै सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

बैंकिङ क्षेत्र दिनप्रतिदिन चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रको भविष्यसँग जोडिएको बैंकिङ क्षेत्रको साझा हित प्रवर्द्धन, आम जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व तथा दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र र समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय तथा निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए।

यसैबीच, नवनियुक्त अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ। तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले बैंकको अध्यक्ष पदबाट राजीनामा दिएपछि कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो।

नवनियुक्त महासचिव गोयल एक अनुभवी बैंकरका रूपमा परिचित छन्। उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डु, क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा उच्च तहको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, कोषाध्यक्ष रमण नेपाल नेपाल राष्ट्र बैंकका निर्देशक, तत्कालीन लक्ष्मी बैंकका सञ्चालक तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशकका रूपमा कार्य अनुभव हासिल गरिसकेका अनुभवी बैंकर हुन्।

सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी पद रिक्त भएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरूमध्येबाट मनोनीत गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा नयाँ पदाधिकारी चयन गरिएको परिसंघले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया