NIMB Header 2
Nepal Life

अति कम र अत्याधिक व्याजदर दुबै शेयर बजारका लागि हानिकारक, विश्लेषणका आधार नै परिवर्तन

National Life
  • अरुण सापकोटा
  • 2026 Jan 24 08:09
अति कम र अत्याधिक व्याजदर दुबै शेयर बजारका लागि हानिकारक, विश्लेषणका आधार नै परिवर्तन
Sanima Reliance

काठमाडौं। शेयर बजारको विश्लेषण गर्दा व्याजदरलाई प्रमुख सूचकका रूपमा लिने गरिन्छ। सामान्यतया व्याजदर बढ्दा शेयर बजार घट्ने र व्याजदर घट्दा बजार बढ्ने मान्यता स्थापित जस्तै भइसकेको छ। यही सिद्धान्तका आधारमा धेरै विश्लेषण हुँदै आएका छन्। तर पछिल्लो दुई वर्षको तथ्यांकले भने यो मान्यतालाई पूर्ण रूपमा प्रश्न गरिरहेको देखिन्छ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका अधिकारी तथा बैंकरहरूका अनुसार हाल बैंकिङ प्रणालीमा रहेको व्याजदर नेपालको इतिहासमै न्यून विन्दुमा छ। यस्तो अवस्थामा तर्कअनुसार शेयर बजारले ऐतिहासिक उचाइ बनाउनु पर्ने हो। तर वास्तविकतामा बजार अपेक्षित रूपमा उकालो लाग्न सकेको छैन, बरु लामो समयदेखि दबाबमै देखिन्छ। यसले के स्पष्ट पार्छ भने व्याजदर अत्यधिक कम हुनु पनि अर्थतन्त्र र शेयर बजार दुवैका लागि सकारात्मक नहुन सक्छ।

अत्यन्तै कम व्याजदरको प्रत्यक्ष असर लाखौं बचतकर्तामा परेको छ। नेपालजस्तो मुलुकमा ठूलो वर्ग बैंकको मुद्दती निक्षेपमा पैसा राखेर आउने निश्चित व्याज आम्दानीमा निर्भर हुन्छ। यही आम्दानीबाट दैनिक खर्च चलाउने वर्गको क्रय शक्ति घट्दा समग्र अर्थतन्त्रमा माग कमजोर हुन जान्छ। यसले अन्ततः शेयर बजारलाई पनि नकारात्मक असर पुर्‍याउँछ।

बीमा कम्पनीदेखि इन्भेष्टमेन्ट कम्पनीहरूसम्मले आफ्नो लगानीको एउटा प्रमुख आधार बैंकको मुद्दती निक्षेपलाई बनाएका हुन्छन्। व्याजदर घट्दा यस्ता संस्थाहरूको व्याज आम्दानी घट्ने र नाफामा प्रत्यक्ष असर पर्ने देखिएको छ। कतिपय कम्पनीहरूको मुख्य आम्दानी नै व्याजबाट हुने भएकाले न्यून व्याजदर उनीहरूका लागि गम्भीर चुनौती बन्दै गएको छ। यसले सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था कमजोर बनाउँदा शेयर बजारमा नकारात्मक मनोविज्ञान सिर्जना भएको छ।

यद्यपि हालको बजारलाई हेर्दा केही सकारात्मक आधारहरू पनि देखिन्छन्। विश्लेषकहरूका अनुसार कम व्याजदर, चुनावी गतिविधि र शेयर बजारको सिजनले आगामी दिनमा बजारलाई सहयोग पुर्‍याउन सक्छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहनु, निक्षेपको ब्याजदर घट्नु र सस्तो ब्याजदरमा कर्जा उपलब्ध हुनुका कारण लगानीकर्ताहरू शेयर बजारतर्फ आकर्षित हुने सम्भावना रहन्छ। चुनावी समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढ्ने भएकाले यसले थप तरलता सिर्जना गर्न सक्छ। यहि विश्लेषणमा पनि बैंकिङ तरलता अझै बढ्ने देखिन्छ। अव यहाँ लगानीका नयाँ दायरा विस्तार नहुने हो भने र लगानीको वातावरण सिर्जना नहुने हो भने बैंकहरुले निक्षेप राखेको पनि उल्लै व्याज लिने अवस्था आउन सक्छ।

यसैगरी चैत पछिको समयलाई परम्परागत रूपमा शेयर बजारको ‘सिजन’ मानिन्छ। यस अवधिमा सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गर्छन्। नौ महिनाको नाफाले कम्पनीको वास्तविक अवस्था झल्काउने भएकाले लगानीकर्ताहरूले त्यसैको आधारमा आगामी असार मसान्तमा वितरण हुन सक्ने लाभांश र बोनस शेयरको अनुमान गर्न थाल्छन्। यही अपेक्षाले गर्दा बजारमा खरिद चासो बढ्ने गर्छ।

अर्कोतर्फ, अर्को आर्थिक वर्ष नजिकिँदै जाँदा वार्षिक प्रतिफल प्राप्त गर्ने समय नजिक भएको अनुभूति लगानीकर्तामा बढ्छ। यसले शेयर ‘होल्ड’ गर्ने प्रवृत्ति बढाउने र बिक्री चाप कम गराउने विश्लेषकहरूको भनाइ छ।

तर व्याजदर चरम रूपमा घट्दै जाँदा यसको नकारात्मक पाटो पनि उत्तिकै गहिरो हुँदै गएको छ। निक्षेपको व्याजमा निर्भर वर्ग सबैभन्दा ठूलो समस्यामा परेको देखिन्छ। यही अवस्था निरन्तर रहिरहे बीमा कम्पनीहरू र व्याज आम्दानीमा आधारित व्यवसायहरू सबैभन्दा बढी प्रभावित हुने संकेत देखिइसकेको छ।

समग्रमा हेर्दा हालको बजारले एउटा महत्वपूर्ण सन्देश दिएको छ व्याजदर अत्यधिक धेरै हुनु जति हानिकारक हुन्छ, अत्यधिक कम हुनु पनि त्यत्तिकै हानिकारक हुन्छ। यदि अति कम व्याजदर हुँदाहुँदै पनि शेयर बजारले गति लिन सकेको छैन भने यसले सन्तुलित व्याजदर र सन्तुलित अर्थतन्त्र नै दीर्घकालीन रूपमा शेयर बजारका लागि आवश्यक शर्त हो भन्ने तथ्यलाई प्रमाणित गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया