NIMB Header 2
Nepal Life

बैंकका सीइओसँग गभर्नरले भने – अत्ति भो, अब म बोल्छु

National Life
  • BFIS News
  • 2023 Oct 05 04:30
बैंकका सीइओसँग गभर्नरले भने – अत्ति भो, अब म बोल्छु
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब खुलेर आफ्ना कुरा राख्ने बताएका छन् । आफू चुपचाप बस्दा बजारमा विभिन्न खालका अफबाहहरु फैलिएकाले अब चुप लागेर नबस्ने बताए ।

Shikhar
NIMB

बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब सार्वजनिकरुपमा आफूले प्रष्ट कुरा राख्ने बताए ।

म लामो समयदेखि चुपचाप बसेको छु, मान्छेहरुले यसलाई कुन अर्थमा बुझे मलाई थाहा छैन, अत्ति भयो अब २/४ दिनदेखि म पनि बोल्छु।

अहिले राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीकाविरुद्ध विभिन्न फोरमहरुमा चरम आलोचना हुँदै आएको छ । गभर्नरकै कारण अर्थतन्त्रमा सुस्तता आएको सरोकारवालाहरुको आरोप छ । तर, गभर्नर र राष्ट्र बैंकका अधिकारीहरु भने वित्तीय अनुशासनमा नबसेकाहरुले राष्ट्र बैंकको नीतिको आलोचना गर्दै आएको बताउँदै आएका छन् ।

‘अब तपाईंहरुमात्रै बोल्नु पर्दैन, म पनि बोल्छु, चुपचाप बस्नुलाई कमजोरीकोरुपमा लिनु हुँदैन, हामीले लिट्रेसी बढाउनै पर्छ,’ गभर्नरले भने ।

गभर्नर अधिकारीले बैंकरहरुलाई राष्ट्र बैंकका नीति निर्देशनको अक्षरश पालना गर्न निर्देशन पनि दिए ।

‘परिस्थिति कठिन छ भन्ने कुरा तपाईंहरुले बुझ्नुभएकै छ, कम्प्लायन्स कति पनि कम्प्रोमाइज नगरी कर्जा असूली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ,’ गभर्नर अधिकारीले निर्देशन दिए ।

बुधबार दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म भएको कार्यक्रममा अन्तिम समयमा गभर्नर उपस्थित भएका थिए ।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले परिस्थिति कठिन रहेको भन्दै संयमित भएर कर्जा असूली गर्न सुझाएका थिए । अर्का डेपुटी गभर्नर निलम तिम्सीनाले वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंक र बैंकहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा सुपरिभिजन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले प्रस्तुति दिएका थिए । उनले गत वर्ष राष्ट्र बैंकले विभिन्न बैंकहरुमा गरेको सुपरभिजनका क्रममा देखिएका कमी कमजोरीहरु उल्लेख गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्न निर्देशन दिएका थिए । नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनको अक्षरश पालना गरेर हिँड्न निर्देशन दिएका थिए ।

ठमेलस्थित अलफ्टमा भएको कार्यक्रममा अधिकांश बैंकका सीइओहरु उपस्थित थिए ।

‘यो नियमित वार्षिक कार्यक्रम हो, राष्ट्र बैंकका अधिकारीहरुको कन्सर्न कम्प्लायन्समा कम्प्रोमाइज नहोस् भन्ने थियो, ‘एक बैंकका सीइओले भने, ‘दबाब नदिइ ऋण असूली गर्नु भन्ने उहाँहरुको निर्देशन थियो, जुन विरोधाभाषपूर्ण छ, किनभने उहाँहरुले जारी गरेका नीति निर्देशन पालना गर्ने हो भने जसरी भएपनि कर्जा असूली गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको निधनबारे पनि चासोकासाथ छलफल भएको थियो ।

पछिल्लो समयमा वित्तीय क्षेत्रमा अराजकता बढेको भन्दै यसको नियन्त्रणमा सबै सजगतापूर्वक लाग्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ थियो । साथै, भ्रामक सूचनाका विरुद्ध सबैले मिलेर आवाज उठाइ सचेतना फैलाउनुपर्ने र, त्यसको लागि सबैले आआफ्नो ठाउँबाट बोल्नुपर्ने पनि उनीहरुको भनाइ थियो । (क्लिकमाण्डू)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया