काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती
- BFIS News
- 2026 Feb 21 10:26
काठमाडौँ, फागुन ९ गते । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिनामङ्गल चोक र तिलगङ्गा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
तिलगङ्गा आँखा अस्पतालअगाडि रहेको पोल ढल्किएकाले त्यसलाई व्यवस्थित गर्न ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। सो क्रममा तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत् कटौती हुनेछ। यस्तै, तिनकुने, गैरीगाउँ, सिनामङ्गल र विमानस्थल क्षेत्रअन्तर्गतका स्थानमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
यसैगरी, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा पनि विद्युत् कटौती हुने भएको छ। काठमाडौँ उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी तथा वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा पनि तोकिएको समयअनुसार विद्युत् कटौती हुनेछ।
विद्युत् कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया