पाल्पा सिमेन्टको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, सर्वसाधारण लगानीकर्तालाई ४५ कित्ता जारी
- BFIS News
- 2026 Feb 24 11:17
काठमाडौं, फागुन १२ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड ले आज (फागुन १२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो।
त्यसैगरी, २ लाख ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि तथा २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन १५ गते बन्द हुनेछ भने ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीका अनुसार यसको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९ वर्ष १२ महिना रहेको छ।
कम्पनीको उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर तथा खानीको खुला क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। कम्पनीले २०७६ बैशाखदेखि क्लिंकर तथा २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो। हाल दैनिक १ हजार ८०० मेट्रिक टन क्लिंकर र २ हजार २०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)





प्रतिक्रिया