निर्वाचनका लागि फागुन २०–२२ सम्म सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय
- BFIS News
- 2026 Feb 24 15:57
काठमाडौं। सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याल ले जानकारी दिएका छन्।
उनका अनुसार निर्वाचनलाई व्यवस्थित, सुरक्षित र सहभागीमुखी बनाउन तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। यसअघि आइतबार बसेको निर्वाचन आयोग को बैठकले पनि सरकारलाई २०, २१ र २२ गते बिदा दिन सिफारिस गरेको थियो। आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्ले अन्ततः तीन दिन बिदा दिने निर्णय गरेको हो।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ। मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट गरी तीन दिन बिदा दिने निर्णयसँगै निर्वाचन अवधिभर सार्वजनिक बिदाको समय लम्बिएको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ। परिषद् गठनसँग सम्बन्धित थप कार्यविधि चाँडै सार्वजनिक गरिने जनाइएको छ।
निर्वाचनको समयमा पर्ने अन्य सार्वजनिक बिदा र पर्वहरूका कारण यसपटक झण्डै एक साता लामो बिदा हुने भएको छ। फागुन १८ गते पहाडी जिल्लामा तथा १९ गते तराई क्षेत्रमा होली पर्व मनाइँदै छ। त्यसपछि २१ गते मतदान, २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिदा पर्नेछ।
यसरी होली पर्व, निर्वाचन र साप्ताहिक बिदा जोडिँदा समग्रमा निर्वाचनताका करिब एक साता लामो सार्वजनिक बिदा हुने भएको छ। सरकारले यस अवधिमा शान्ति सुरक्षा सुदृढ पार्दै निर्वाचन सफल बनाउन सबै पक्षसँग सहकार्य गर्ने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया