अमेरिका–इजरायलको आक्रमणपछि इरानमा खामेनीको मृत्यु, मध्यपूर्व युद्धको संघारमा
- BFIS News
- 2026 Mar 01 13:58
पेरिस, फागुन १७ गते । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ। आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले पनि त्यसको पुष्टि गरेको जनाएको छ। घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ।
शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानअन्तर्गत तेहरानसहित विभिन्न रणनीतिक स्थानमा प्रहार गरिएको जनाइएको छ। इजरायली सेनाले २०० लडाकु जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ। वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थान र मिसाइल प्रक्षेपण स्थल मुख्य निशानामा परेको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप कारबाही जारी रहने चेतावनी दिनुभएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म सटीक र व्यापक बमबारी जारी रहने बताउनुभएको छ। उहाँले खामेनीको मृत्यु भएको घोषणा गर्नुभएको थियो। त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले शोक सन्देश प्रसारण गर्दै निधन पुष्टि गरेको जनाएको छ। इरानमा ४० दिनको राष्ट्रिय शोक तथा सात सार्वजनिक बिदा घोषणा गरिएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको छ। न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा मारिएको जनाएको छ। खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने बताइएको छ। दिवंगत शाहका छोरा रेजा पहलवीले यस घटनालाई इस्लामिक गणतन्त्रको अन्त्यतर्फको संकेतका रूपमा टिप्पणी गर्नुभएको छ।
तेहरानमा आइतबार पनि शक्तिशाली विस्फोटका आवाज सुनिएको जनाइएको छ। इरानको न्यायपालिकाले मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको दाबी गरेको छ, यद्यपि स्वतन्त्र पुष्टि हुन सकेको छैन।
प्रतिउत्तरस्वरूप इरानको रिभोलुसनरी गार्ड्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ। बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट तथा खाडी क्षेत्रका अन्य अड्डालाई पनि लक्षित गरिएको दाबी गरिएको छ। इजरायलको आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन्।
संयुक्त अरब इमिरेट्सले अबु धाबीमा दुई जनाको मृत्यु भएको र आफ्नो भूभागमा १३७ मिसाइल तथा २०९ ड्रोन प्रहार गरिएको दाबी गरेको छ। दुबईमा विस्फोटको आवाज सुनिएको र केही क्षेत्रमा धुवाँ देखिएको जनाइएको छ। रियाद, मनामा र दोहामा पनि विस्फोटको आवाज सुनिएको विवरण सार्वजनिक भएको छ। कतारले आफूविरुद्ध प्रहार गरिएका क्षेप्यास्त्र रोकेको दाबी गरेको छ।
इरानले रणनीतिक होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ।
विकासक्रमप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ। इरानका प्रतिनिधिले अमेरिका र इजरायलमाथि सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य कारबाहीले स्थिति नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ।
ओमानले हिंसाप्रति निराशा व्यक्त गरेको छ भने युरोपेली सङ्घले परिस्थितिलाई ‘खतरनाक’ भनेको छ। रुसले अमेरिका–इजरायलको कारबाहीलाई ‘खतरनाक साहसिक कार्य’ भन्दै क्षेत्रीय विनाश निम्त्याउन सक्ने टिप्पणी गरेको छ। लेबनानस्थित हिजबुल्लाह समूहले अमेरिका र इजरायलविरुद्ध उभिन आह्वान गरेको छ।
यसबीच इरान, इराक, कुवेत, सिरिया, संयुक्त अरब इमिरेट्स र इजरायलले नागरिक उडानका लागि आकाश आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन्। धेरै अन्तर्राष्ट्रिय विमान सेवाले मध्यपूर्वका उडान स्थगित गरेका छन्।
तेहरानबाट सुरु भएको यो द्वन्द्वले खाडी क्षेत्र हुँदै विश्व शक्तिहरूलाई समेत तान्दै व्यापक क्षेत्रीय सङ्घर्षको सम्भावना बढाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया