Nepal Life

मध्यपूर्वमा युद्ध चर्किँदै, खाडी क्षेत्रदेखि लेबनान र इराकसम्म सैन्य गतिविधि तीव्र

NMB Bank
  • BFIS News
  • 2026 Mar 07 13:16
मध्यपूर्वमा युद्ध चर्किँदै, खाडी क्षेत्रदेखि लेबनान र इराकसम्म सैन्य गतिविधि तीव्र
National Life

वासिङ्टन, फागुन २३ गते । अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध थप फैलिँदै जाँदा खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म सैन्य गतिविधि तीव्र बनेको छ । विभिन्न स्थानमा विस्फोट, क्षेप्यास्त्र प्रहार र ड्रोन आक्रमणका घटना भइरहेका छन् भने यसको असर विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि देखिन थालेको छ।

Shikhar
NIMB

शनिबार दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले जनाएका छन्। इरानले खाडी क्षेत्रका लक्ष्यमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको एक हप्तापछि यी विस्फोट सुनिएको हो। मानामामा चेतावनी साइरन बजाइएको थियो भने बहराइनको गृह मन्त्रालयले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपतकालीन’ स्वीकृति दिएको जनाएको छ। विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोका अनुसार उक्त बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने र क्षेत्रीय खतराविरुद्ध निवारक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभर हवाई आक्रमणको चेतावनी जारी गरेको छ। इरानले आफ्नो सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हत्या र अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि आक्रमण जारी राखेको बताइएको छ।

यसै क्रममा लेबनान–सिरिया सीमामा पनि तनाव बढेको छ। लेबनानी सरकारी मिडियाका अनुसार इजरायलले उक्त क्षेत्रमा अवतरण कारबाहीको प्रयास गर्दा झडप भएको थियो। तेहरान समर्थित हिजबुल्लाहले आफ्ना लडाकू उक्त झडपमा संलग्न रहेको जनाएको छ।

खाडी क्षेत्रमा पनि आक्रमणका प्रयास जारी रहेका छन्। साउदी अरेबियाको रक्षा मन्त्रालयले अमेरिकी सैन्य कर्मचारी बसोबास गर्ने एक हवाई अड्डातर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल अवरोध गरिएको जनाएको छ। राज्य समाचार एजेन्सीका अनुसार पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरीलाई लक्षित ड्रोन आक्रमणसमेत विफल पारिएको थियो।

इरानको राजधानी तेहरानमा पनि शनिबार ठूलो विस्फोट भएको इरानी राज्य प्रसारणकर्ताले जनाएको छ। त्यसपछि इजरायली सेनाले तेहरानका लक्ष्यमा व्यापक आक्रमण सुरु गरेको पुष्टि गरेको छ। इजरायलका अनुसार इरानबाट नयाँ चरणको क्षेप्यास्त्र प्रहार भएपछि तेल अभिव क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट सुनिएका थिए।

इरान र इजरायलबीचको युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ। खाडी क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुने आशङ्काले कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। वेस्ट टेक्सास इन्टरमिडियेट कच्चा तेलको मूल्य शुक्रबार १२ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.९२ डलर पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै युद्ध नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएको छ। उहाँले जारी सङ्कटले ठूलो मानवीय पीडा निम्त्याइरहेको र विश्व अर्थतन्त्रका लागि गम्भीर जोखिम सिर्जना गरिरहेको बताउनुभएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया