म्याग्दीबाट स्वतन्त्र सांसद बने महावीर पुन
- BFIS News
- 2026 Mar 09 16:46
म्याग्दी, फागुन २५ गते । सामाजिक अभियन्ताका रूपमा परिचित महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो ।
अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोबाट चुनाव लड्नुभएको थियो ।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विसं २०४९ मा स्नातकोत्तर गरेका पुनले म्याग्दीमा सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुनका अनुसार विसं २०५८–२०६४ को अवधिमा पोखरा, काठमाडौंलगायत सहरमा कम्प्युटर र इन्टरनेट सहज नभएको समयमा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयमा कम्प्युटर शिक्षा सुरु गराउनुभएको थियो । साथै, ताररहित इन्टरनेट सेवा विस्तार गर्नुभएको थियो ।
ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेको योगदानका लागि पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कारका रूपमा चिनिने रोमन म्यागासेसे पुरस्कार (५० हजार डलर) प्राप्त गर्नुभएको थियो ।
पुनको पहलमा चौरीपालन, माछापालन र तरकारीखेतीमार्फत ग्रामीण विद्यालयका लागि आयस्रोत जुटाउने अवधारणा अघि सारिएको थियो । उहाँको अगुवाइमा अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेक क्षेत्रमा सामुदायिक लज सञ्चालन गरिएको छ । चौरीपालन र सामुदायिक लजबाट हुने आम्दानी विद्यालय सञ्चालनमा प्रयोग हुँदै आएको छ ।
विसं २०६० को दशकमा पुनको पहलमा टेलिमेडिसिन सेवा सुरु गरी गाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सहरका चिकित्सकसँग परामर्शमार्फत सेवा दिने अभ्यास सुरु गरिएको थियो । नागीमा नेपाली हाते कागज उद्योग पनि सञ्चालन गरिएको थियो ।
उहाँले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँलगायत स्थानमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन र वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न पुनले व्यक्तिगत रूपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरेर स्रोत जुटाउनुभएको थियो । साथै आफ्नै जीवनकथासम्बन्धी पुस्तक बिक्रीबाट प्राप्त करिब रु १२ करोड वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि प्रयोग गर्नुभएको थियो ।
पुनले सन् २००२ मा अशोका फेलोसिप, सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हल अफ फेम, नेपाल सरकारबाट भवन कीर्तिमान रत्नसहित रु १० लाख नगद तथा गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गर्नुभएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यका अनुसार पुनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले परिवर्तन खोजिरहेका मतदाताको मन जित्दै राजनीतिक दलहरूको संगठनात्मक शक्तिलाई समेत चुनौती दिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै पुनले २२ हजार ८५० मतसहित विजय हासिल गर्नुभएको हो ।
आचार्यका अनुसार यसपटक लोभ, आश्वासन, डर, धम्की र भ्रमजस्ता राजनीतिक अभ्यासले अपेक्षाकृत प्रभाव नपार्दा पुनको जित सहज बनेको देखिएको छ ।
पुनको जितले म्याग्दीमा राजनीतिक दल र नेताहरूलाई संगठन, शक्ति र पैसाभन्दा पनि जनविश्वास महत्वपूर्ण हुने सन्देश दिएको आचार्यले बताउनुभयो ।
अब गठन हुने प्रतिनिधिसभामा दलविहीन सांसदका रूपमा पुनमात्र निर्वाचित हुनुभएको छ । पुनले विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षामा देखिएको राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको प्रभाव अन्त्य गर्दै शैक्षिक सुधारका लागि नीतिगत पहल गर्ने बताउनुभएको छ ।
चुनाव प्रचारका क्रममा पुनले मतदातासँग सरल र अनौपचारिक रूपमा भेटघाट गर्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचार गर्नुभएको थियो । विजयपछि उहाँले तडकभडकका साथ विजय उत्सव मनाउने र अनावश्यक खर्च नगर्न समर्थक तथा मतदातालाई अनुरोध गर्नुभएको छ ।
पुनले अपनाएको फरक शैलीको चुनाव प्रचार तथा मतदाताबाट आर्थिक सहयोग लिएर चुनाव लडेको विषय पनि व्यापक चर्चा भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया