झापा–५ का विजेता बालेन्द्र शाहद्वारा १४ लाख १७ हजार निर्वाचन खर्च सार्वजनिक
- BFIS News
- 2026 Mar 09 17:03
दमक, फागुन २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् । यस क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका थिए । मतपरिणाम सार्वजनिक भएपछि नेता शाहले आफ्नो निर्वाचन खर्च सार्वजनिक गर्नुभएको हो ।
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा बुझाइएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २२९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
खर्च विवरणमा निर्वाचन प्रचारका क्रममा सवारीसाधनमा २ लाख ९३ हजार ८ सय रुपैयाँ, पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २८ हजार ९७० रुपैयाँ तथा घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँलगायतका खर्च समावेश गरिएको छ ।
खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालय झापामा पेश गर्नुभएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार खर्च विवरण बुझाउने उम्मेदवारमध्ये शाह पहिलो हुनुहुन्छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया