राजमार्ग विस्तारबाट प्रभावित ऋणीलाई राष्ट्र बैंकको राहत, कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको व्यवस्था
- BFIS News
- 2026 Mar 13 18:22
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजमार्ग विस्तारका कारण प्रभावित भएका उद्यमी तथा व्यवसायी ऋणीलाई राहत दिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम तथा व्यवसायमा प्रवाहित कर्जालाई लक्षित गर्दै पुनरतालिकीकरण तथा पुनरसंरचनाको योजना ल्याएको जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित ऋणीको नगद प्रवाह र आम्दानीको अवस्था विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्नेछन्।
यसका लागि ऋणीले बुझाउनुपर्ने ब्याज रकमको कम्तीमा १० प्रतिशत रकम भुक्तानी गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त शर्त पूरा गरेपछि बैंक तथा वित्तीय संस्थाले प्रभावित ऋणीको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
सर्कुलरअनुसार यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना प्रक्रिया २०८३ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। साथै, सो अवधिमा कर्जा जुन वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा कायम गरी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने प्रावधान पनि राष्ट्र बैंकले उल्लेख गरेको छ।
राजमार्ग विस्तारका कारण व्यवसाय स्थल गुमाएका वा स्थानान्तरण गर्नुपरेका उद्यमीलाई वित्तीय दबाब कम गर्न यो व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया