Nepal Life

मध्यपूर्वी द्वन्द्वले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चेतावनी

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 19:00
मध्यपूर्वी द्वन्द्वले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चेतावनी
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरूमा देखिएको द्वन्द्वले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने चेतावनी दिएका छन्। उनले कच्चा तेलको मूल्यवृद्धि, आपूर्ति शृङ्खलामा समस्या तथा वैदेशिक रोजगारीमा पर्ने असरका कारण मुलुकको आर्थिक गतिविधि प्रभावित हुन सक्ने बताएका हुन्।

Shikhar
NIMB

आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको र त्यसको प्रभाव नेपालजस्ता आयातमुखी अर्थतन्त्रमा प्रत्यक्ष पर्ने बताए। उनका अनुसार द्वन्द्व लामो समयसम्म जारी रहेमा नेपालसहित विश्व अर्थतन्त्रमा जोखिम बढ्ने सम्भावना छ।

अन्तर्राष्ट्रिय अध्ययनहरू उद्धृत गर्दै उनले युद्धका कारण कच्चा तेलको मूल्य प्रति ब्यारल करिब १० प्रतिशतसम्म बढ्न सक्ने र त्यसले मुद्रास्फीति करिब ०.४ प्रतिशत बिन्दुले वृद्धि गराउने बताए। यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यस्तो अवस्थाले आर्थिक वृद्धिदर करिब ०.१५ प्रतिशत बिन्दुले घटाउन सक्ने उल्लेख गरे। यदि द्वन्द्व लामो समयसम्म कायम रह्यो भने तेलको मूल्य करिब २५ प्रतिशतसम्म बढ्ने जोखिम रहेको उनले बताए।

भट्टका अनुसार युद्धका कारण भारत, नेपाललगायतका देशहरूमा ग्यास तथा अन्य अत्यावश्यक वस्तु सञ्चय गर्ने प्रवृत्ति देखिन थालेको छ, जसले बजारमा अभावको स्थिति सिर्जना गर्न सक्छ। मानिसहरूले खाद्यान्नदेखि ग्याससम्म सञ्चय गर्न थालेपछि केही व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गर्ने सम्भावना पनि रहने उनले बताए।

मुद्रास्फीति बढ्दा यसको सबैभन्दा बढी प्रभाव निम्न आय भएका वर्गमा पर्ने भट्टको भनाइ छ। मूल्यवृद्धिले गरिबी र आय असमानता थप बढ्ने जोखिम रहेको उनले बताए। विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्वले नेपालको आर्थिक वृद्धिदरमा समेत प्रभाव पारिरहेको उनको धारणा थियो।

भट्टले पेट्रोलियम पदार्थको मूल्य लामो समयदेखि अपेक्षाकृत कम रहेको अवस्था अब कायम नरहने संकेत गरे। उनले भने, “आर्थिक वृद्धि प्रभावित हुने जोखिम देखिएको छ। पुनर्निर्माणका काम अघि बढाउने योजना भए पनि कच्चा पदार्थको आपूर्ति सहज नहुँदा निर्माण क्षेत्र प्रभावित हुन सक्छ।”

उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायात, थोक तथा खुद्रा व्यापारजस्ता आर्थिक गतिविधिहरूमा असर पर्न सक्छ। यी क्षेत्रहरूले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएका छन्। साथै युद्धका कारण पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्न सक्ने उनले बताए।

भट्टले आयात–निर्यात व्यापारमा समेत असर पर्ने सम्भावना औंल्याए। नेपालमा प्रयोग हुने मलमध्ये करिब आधा हिस्सा मध्यपूर्वबाट आयात हुने भएकाले त्यहाँको संकटले मल आपूर्तिमा समस्या आउन सक्ने उनको भनाइ थियो। मलको अभाव भएमा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने उनले बताए। कृषि, पर्यटन र दैनिक आर्थिक गतिविधिहरू प्रभावित भएमा अर्थतन्त्रमा गम्भीर दबाब पर्न सक्ने उनले चेतावनी दिए।

उनले द्वन्द्वका कारण वैदेशिक रोजगारी र रेमिट्यान्समा पनि असर पर्ने जोखिम रहेको बताए। भट्टका अनुसार करिब ४० प्रतिशत नेपाली श्रमिक मध्यपूर्वी देशहरूमा कार्यरत छन्। ती क्षेत्रमा समस्या बढेमा रेमिट्यान्स घट्न सक्ने र त्यसले विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्न सक्ने उनको भनाइ थियो।

विदेशी मुद्रा सञ्चिति कमजोर भएमा अन्तर्राष्ट्रिय दातृ निकायहरूको विश्वास समेत घट्न सक्ने उनले उल्लेख गरे। साथै वैदेशिक रोजगारी प्रभावित हुँदा नेपाल फर्किने श्रमिकहरूको व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बन्न सक्ने भट्टले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया