Nepal Life

१५ कम्पनीको लकिङ पिरियड सकिदै, सकारात्मक लयमा रहेको बजारमा दबाब पर्ने

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 19:25
१५ कम्पनीको लकिङ पिरियड सकिदै,  सकारात्मक लयमा रहेको बजारमा दबाब पर्ने
National Life

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ वटा कम्पनीको लकिङ पिरियड सकिने भएको छ। पछिल्लो समय राजनीतिक परिवर्तनसँगै शेयर बजारमा देखिएको सकारात्मक संकेतबीच ठूलो परिमाणमा शेयर बजारमा आउन लाग्दा बजारमा दबाब पर्न सक्ने आशंका गरिएको छ।

Shikhar
NIMB

जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी को दुई तिहाई बहुमतको सरकार बन्ने प्रक्रिया अघि बढिरहेका बेला शेयर बजार पनि केही हदसम्म सुधारको संकेत देखाउन थालेको छ। यद्यपि बजारमा थप शेयर आपूर्ति बढ्ने अवस्था बनेकाले लगानीकर्ताबीच मिश्रित धारणा देखिएको छ।

लकिङ अवधि समाप्त हुन लागेका कम्पनीमध्ये अधिकांश जलविद्युत क्षेत्रका छन्। त्यसबाहेक सञ्चार, सिमेन्ट तथा होटल क्षेत्रसँग सम्बन्धित कम्पनीका शेयर पनि खुला बजारमा कारोबारका लागि आउने भएका छन्। लकिङ खुल्दा बजारमा नयाँ शेयर आपूर्ति बढ्ने भएकाले सकारात्मक हुँदै गएको बजारमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।

निर्वाचनपछिको पहिलो कारोबार दिन NEPSE Index ६ प्रतिशतले बढेर बन्द भएको थियो। तर त्यसपछिका दुई कारोबार दिनमा भने सूचक झन्डै ५० अंकले घटेको थियो। तेस्रो कारोबार दिनदेखि भने सूचक पुनः हरियो देखिन थाले पनि पहिलो दिनजस्तो तीव्र वृद्धि भने देखिएको छैन। यद्यपि दैनिक कारोबार रकम भने निरन्तरजसो १० अर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ।

यसबीच नेपाल राष्ट्र बैंक ले लगानीकर्ताको मागअनुसार मार्जिन कर्जाको सीमा हटाउने तथा बैंक तथा वित्तीय संस्थालाई शेयर खरिदमा केही खुकुलो नीति अपनाउने निर्णय गरे पनि बजारले अपेक्षित गति लिन सकेको छैन। यसअघि लगानीकर्ताले राजनीतिक अस्थिरतालाई बजार नबढ्नुको प्रमुख कारणका रूपमा विश्लेषण गर्ने गरेका थिए।

तर अर्काथरी लगानीकर्ताले भने बजारमा पर्याप्त तरलता, न्यून ब्याजदर र स्थिर सरकार बन्ने सम्भावनाबीच पनि बजार नबढ्नुको कारण बढ्दो शेयर आपूर्ति रहेको तर्क गर्ने गरेका छन्। पछिल्ला दिनमा मध्यपूर्व क्षेत्रमा देखिएको तनावले पनि केही लगानीकर्तालाई प्रभावित पारेको बताइन्छ।

त्यस्तै नेपाल धितोपत्र बोर्ड ले नियमितजसो आईपीओ तथा हकप्रद शेयरलाई अनुमति दिँदै आएकाले पनि बजारमा आपूर्ति बढ्दै गएको छ। बैंक तथा बीमा कम्पनी बाहेक अन्य कम्पनीमा आईपीओ बाँडफाँट भएको तीन वर्षपछि संस्थापक शेयर पनि साधारण सरह कारोबार गर्न मिल्ने व्यवस्था छ। सामान्यतया कम्पनीले आईपीओ जारी गर्दा जारी पुँजीको २० देखि ४९ प्रतिशतसम्म मात्र सर्वसाधारणलाई दिने अनुमति पाउने गर्दछ भने बाँकी शेयर संस्थापकसँग रहने गर्दछ। पछिल्ला वर्षमा यस्ता संस्थापक शेयर बजारमा आउन थालेकाले पनि बजारमा दबाब बढेको लगानीकर्ताहरूको भनाइ छ।

यही चैत महिनामा मात्र तीन जलविद्युत कम्पनीको लकिङ अवधि समाप्त हुँदैछ। सबैभन्दा पहिले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड को लकिङ अवधि चैत ७ गते (मार्च २१) सकिँदैछ। सानिमा माइ हाइड्रोपावर लिमिटेड को मुख्य लगानीमा स्थापना भएको यस कम्पनीमा ३० प्रतिशत सर्वसाधारण र ७० प्रतिशत संस्थापक लगानी रहेको छ।

त्यसैगरी सगरमाथा जलविद्युत कम्पनी को लकिङ अवधि चैत १६ गते खुल्दैछ। उक्त कम्पनीमा ४० प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक शेयरधनीको लगानी रहेको छ। त्यस्तै मकर जितुमायण सुरी हाइड्रोपावर को लकिङ पिरियड चैत २८ गते सकिँदैछ, जहाँ संस्थापकको करिब ७० प्रतिशत लगानी रहेको छ।

यस बाहेक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, डोल्टी पावर कम्पनी, मेन्छियम हाइड्रोपावर, माइखोला हाइड्रोपावर, इङवा हाइड्रोपावर, मोदी इनर्जी, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङगे हाइड्रोपावर को पनि लकिङ अवधि समाप्त हुँदैछ।

जलविद्युत कम्पनी बाहेक अन्य क्षेत्रका कम्पनीहरूमा सिटी होटल लिमिटेड (होटल क्षेत्र), घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड (उत्पादनमूलक क्षेत्र) तथा नेपाल रिपब्लिक मिडिया लिमिटेड (अन्य समूह) को लकिङ अवधि पनि यही अवधिमा समाप्त हुने भएको छ।

विश्लेषकहरूका अनुसार ठूलो परिमाणमा शेयर बजारमा प्रवेश गर्दा छोटो अवधिमा बजारमा दबाब पर्न सक्ने भए पनि दीर्घकालीन रूपमा बजारको गहिराइ बढ्न सक्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया