नेपाल बीमा प्राधिकरणद्वारा दिव्य कलेजमा वित्तीय साक्षरता तथा अन्तरक्रिया सम्पन्न
- BFIS News
- 2026 Mar 19 13:49
काठमाडौं, चैत ५ । ग्लोबल मनी वीक २०२६ (SMART MONEY TALKS) को अवसरमा तीनकुनेस्थित दिव्य कलेजमा नेपाल बीमा प्राधिकरणको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता प्राधिकरणका उपनिर्देशक तथा कार्यक्रम संयोजक राजेन्द्र महर्जनले गरेका थिए। कार्यक्रममा कलेजका प्रिन्सिपल नारायण काफ्ले प्रमुख अतिथि तथा सहायक प्रिन्सिपल छत्र न्यौपाने विशेष अतिथिका रूपमा सहभागी भएका थिए। साथै, प्रभु इन्स्योरेन्सका डेपुटी सीईओ समीर तामाङको पनि विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा व्यवस्थापन, कानून तथा विज्ञान संकायका कक्षा ११ का करिब २०० विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम ध्यानपूर्वक सुन्नुका साथै अन्तरक्रियात्मक सत्रमा उत्साहजनक सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय ज्ञान, बचत बानी र अनुशासन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। सहायक प्रिन्सिपल न्यौपानेले पनि कार्यक्रमलाई उपयोगी र ज्ञानवर्धक भएको उल्लेख गर्दै व्यवहारिक जीवनमा वित्तीय शिक्षाको महत्व औंल्याए।
प्रभु इन्स्योरेन्सका डेपुटी सीईओ तामाङले बीमालाई जोखिम न्यूनीकरणको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै जीवन तथा सम्पत्ति सुरक्षाका लागि बीमा अपरिहार्य रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले ग्लोबल मनी वीकको पृष्ठभूमि, उद्देश्य र बीमाको महत्वबारे प्रस्तुतीकरण दिएका थिए। साथै, प्राधिकरणका सहायक प्रथम गणेश सुवेदीको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका अध्यक्ष महर्जनले “SMART MONEY TALKS” नाराको सान्दर्भिकता स्पष्ट पार्दै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन र सदुपयोग गर्न प्रेरित गरे। उनले सानैदेखि बचतको बानी विकास गर्न, खाजा खर्चबाट बचत गरी आईपीओमा लगानी गर्न तथा बैंकमा निक्षेप राख्न सुझाव दिए। साथै, अभिभावकलाई जीवन, सम्पत्ति र दायित्व बीमा गर्न पनि आग्रह गरे।
उनले अर्थतन्त्रका तीन प्रमुख वित्तीय आधार नियमित बचत, पुँजी बजारमा लगानी र बीमामार्फत जोखिम व्यवस्थापनलाई सुदृढ गर्दै सुरक्षित भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए। आगलागी, भूकम्प र बाढी जस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि सम्पत्ति तथा सवारी साधन बीमा आवश्यक रहेको पनि उनले उल्लेख गरे।
कार्यक्रम अन्त्यमा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो। आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया