हावाहुरी र भारी वर्षाको चेतावनी: नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह
- BFIS News
- 2026 Mar 19 17:03
काठमाडौं, चैत ५ — आगामी तीन दिनका लागि जारी गरिएको मौसम पूर्वानुमानले देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना देखाएपछि सम्बन्धित निकायले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चैत ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, शुक्रबारदेखि बाँके र नेपालगञ्ज आसपाससहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। शनिबार भने पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव देखिने जनाइएको छ।
पूर्वानुमानअनुसार हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ, जसले जनजीवनमा व्यापक असर पार्न सक्ने देखिएको छ। प्रि–मनसुन अवधिमा यस्ता मौसमीय गतिविधि बढ्ने हुँदा रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको सम्बन्धित निकायले जनाएको छ।
पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा आगोका स्रोतहरू सुरक्षित रूपमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
त्यस्तै, सवारी साधन चलाइरहेका अवस्थामा हावाहुरी सुरु भए सुरक्षित स्थानमा रोकिन, भीडभाडमा नआत्तिइकन संयमित रूपमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरिएको छ। कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न तथा झुन्डिएको विद्युत तारबाट टाढा रहन समेत चेतावनी दिइएको छ।
प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक जानकारी जल तथा मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट नियमित रूपमा प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया