रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेर १.४४ खर्ब रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Apr 03 10:13
काठमाडौं। चालु आर्थिक वर्षको मध्य–चैतसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आएको रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिसम्म रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर ९.५ प्रतिशत मात्रै थियो। यस वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा आएको १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँको तुलनामा उच्च हो।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको छ। समीक्षा अवधिमा ३१ प्रतिशतले वृद्धि भई कुल आप्रवाह १० अर्ब १५ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो वृद्धि ७.१ प्रतिशत मात्रै थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) पनि उल्लेखनीय रूपमा बढेर १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब रुपैयाँ थियो।
वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या भने केही घटेको देखिएको छ। समीक्षा अवधिमा नयाँ तथा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने २ लाख ५१ हजार ९८५ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ जना रहेका थिए।
बाह्य क्षेत्रको सन्तुलनमा पनि सुधार देखिएको छ। चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ बचतमा रहेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा यस्तो बचत ३ अर्ब ८८ करोड पुगेको छ, अघिल्लो वर्ष १ अर्ब ४६ करोड डलर रहेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया