दार्चुलाको गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना हुँदै, वैशाख पहिलो साताबाट सेवा सुरु हुने लक्ष्य
- BFIS News
- 2026 Apr 05 12:49
खलङ्गा (दार्चुला), चैत २२ — सुदूरपश्चिमको दुर्गम हिमाली जिल्ला दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी तीव्र पारिएको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा कार्यालय स्थापना गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेपछि गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको छ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार वैशाखको पहिलो हप्ताभित्रै कार्यालय सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक संरचना तयार गर्ने काम भइरहेको छ। उहाँले तोकिएको समयभित्र सेवा सुरु गर्ने गरी पूर्वाधार र व्यवस्थापन मिलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
कार्यालय सञ्चालनका लागि गोकुलेश्वरमा बसेको अन्तरपालिका बैठकले आवश्यक सामग्री, आन्तरिक व्यवस्थापन तथा अन्य सहयोग स्थानीय तहहरूले उपलब्ध गराउने निर्णय गरेको छ। साथै, शैल्यशिखर नगरपालिका अन्तर्गतको कृषि तथा पशु भवनलाई अस्थायी रूपमा कार्यालयका रूपमा प्रयोग गर्ने तय गरिएको छ।
भौगोलिक विकटतालाई ध्यानमा राख्दै स्थानीय नागरिकलाई नजिकैबाट प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गर्न लागिएको हो। हालसम्म नागरिकहरूले नागरिकता लगायतका सेवा लिन सदरमुकाम खलङ्गा धाउनुपर्ने बाध्यता थियो, जुन अब अन्त्य हुने अपेक्षा गरिएको छ। गोकुलेश्वरमा स्थापना हुने कार्यालयबाट करिब ७२ किलोमिटर टाढासम्मका नागरिक लाभान्वित हुनेछन्।
वडा अध्यक्ष जगदीश धामीले ग्रामीण क्षेत्रका बासिन्दालाई सहज सेवा दिन कार्यालय आवश्यक रहेको बताउनुभयो। त्यसैगरी स्थानीय बासिन्दा धरमानन्द जोशीले घर नजिकैबाट नागरिकता लगायत सेवा पाउने भएपछि खुशी व्यक्त गर्नुभएको छ।
नयाँ ईलाका प्रशासन कार्यालयमार्फत शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका तथा नौगाड गाउँपालिका–६ र लेकम गाउँपालिका–१, २, ५ र ६ का नागरिकलाई सेवा उपलब्ध गराइनेछ। यहाँबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षा सम्बन्धी सेवा सहज रूपमा प्राप्त हुने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)
.jpg)


प्रतिक्रिया