सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- BFIS News
- 2026 Apr 16 10:27
काठमाडौं, बैशाख ३ — सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (बैशाख ३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन सुरु गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओमार्फत निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याई बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी, १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई पनि वितरण गरिसकिएको छ।
अब कम्पनीले बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।
आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति बैशाख ८ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिने जनाइएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी सिंगल बी” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
वित्तीय सूचकअनुसार कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया