NIMB Header 2
Nepal Life

सेयर लगानी विवादमा सुदन गुरुङको स्पष्टीकरण, छानबिनमा सहयोग गर्ने प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2026 Apr 20 14:12
सेयर लगानी विवादमा सुदन गुरुङको स्पष्टीकरण, छानबिनमा सहयोग गर्ने प्रतिबद्धता
United Ajod

काठमाडौं । सुदन गुरुङ ले पछिल्ला दिनमा आफ्नो नामसँग जोडिएका विभिन्न आरोप र सार्वजनिक चर्चाबारे विस्तृत स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हल्ला र यथार्थबीच स्पष्ट भिन्नता छुट्याउन सबैलाई आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

उनले आफूविरुद्ध उठाइएको ‘२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको’ भन्ने आरोपको खण्डन गर्दै धितोपत्र बजारमा कारोबार हुने शेयरअन्तर्गत २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुलाइसकेको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही श्रेणीभित्र पर्ने उनको दाबी छ। “लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,” उनले उल्लेख गरेका छन्।

मन्त्री गुरुङले आफू मन्त्री बन्नुअघि गरिएको शेयर लगानीलाई सामान्य आर्थिक गतिविधिका रूपमा व्याख्या गर्दै त्यसलाई विवादित बनाउन खोजिएकोप्रति आपत्ति जनाएका छन्। सबै कारोबार बैंकिङ च्यानलमार्फत गरिएको र त्यसको स्पष्ट अभिलेख रहेको उनले बताए। लगानीको स्रोत ऋणमार्फत जुटाइएको उल्लेख गर्दै उनले २०८० भदौ २९ गतेको लिखित तमसुक तथा बैंक रेकर्डले त्यसलाई पुष्टि गर्ने बताएका छन्।

‘विवादित व्यक्तिसँग साझेदारी’ भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा धेरै शेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। यस्तो तर्क लागू गरिए सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने अवस्था आउने उनले टिप्पणी गरे।

स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको उल्लेख गर्दै प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। आफूले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै उनले छानबिनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

गुरुङले लगानी गर्दा सबै जोखिम पूर्वानुमान गर्न सम्भव नहुने भन्दै पछिका घटनालाई आधार बनाएर निर्णयमाथि प्रश्न उठाउनु उचित नभएको धारणा राखे। साथै, कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिएको पनि उनले स्पष्ट पारे।

अन्त्यमा उनले आरोप र सत्य फरक हुने उल्लेख गर्दै प्रमाणका आधारमा मात्र निर्णय हुनुपर्नेमा जोड दिए। पार्टीले गर्ने निर्णय स्वीकार गर्ने र अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जिम्मेवार ढंगले सत्यमा उभिन सबैलाई आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया