NIMB Header 2
Nepal Life

कोशी प्रदेशमा बर्डफ्लुको ठूलो प्रकोप: २ लाखभन्दा बढी कुखुरा नष्ट गरिँदै

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 17:21
कोशी प्रदेशमा बर्डफ्लुको ठूलो प्रकोप: २ लाखभन्दा बढी कुखुरा नष्ट गरिँदै
United Ajod

विराटनगर, वैशाख ६ गते । कोशी प्रदेशमा बर्डफ्लुको संक्रमण भयावह बन्दै जाँदा सुनसरी र मोरङका ठूला पोल्ट्री फार्महरूमा रहेका २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । एउटै फार्ममा यति ठूलो संख्यामा कुखुरा नष्ट गर्न लागिएको यो प्रदेशकै इतिहासमा सबैभन्दा ठूलो घटना मानिएको छ ।

 

Shikhar
Nepal Life
NIMB

सुनसरीको रामधुनी नगरपालिका स्थित सुनसरी पोल्ट्री फार्ममा १ लाख ५५ हजार र मोरङको बुढीगङ्गास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा ७२ हजार कुखुरा नष्ट गरिने तयारी पूरा भइसकेको छ । पशु सेवा विभागले दुई दिनअघि नै यी फार्ममा बर्डफ्लु संक्रमण पुष्टि गरेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार करिब ७ हजार कुखुरा संक्रमणकै कारण मरेका छन् भने बाँकीलाई संक्रमण फैलिन नदिन नष्ट गर्नुपर्ने अवस्था आएको हो । यस कार्यका लागि ११० जना जनशक्ति परिचालन गरिएको छ, जसमा ८० जना फार्मकै कामदार र ३० जना बाहिरबाट खटिएका छन् ।

मोरङको बुढीगङ्गामा पनि ७२ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु हुँदैछ । संक्रमित कुखुरा नष्ट गर्ने प्रक्रिया निकै संवेदनशील भएकाले सावधानीपूर्वक टाउकोमा प्रहार गरी मार्ने र त्यसपछि गहिरो खाल्डोमा चुन तथा ब्लिचिङ पाउडर प्रयोग गरी सुरक्षित रूपमा पुर्ने व्यवस्था गरिएको छ । यसका लागि डोजरसमेत प्रयोग गरिएको छ ।

यसअघि नै सुनसरीका १६–१७ प्रभावित क्षेत्रमा २ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । पछिल्लो घटनासँगै यो संख्या अझ बढ्ने भएको छ ।

बर्डफ्लुको प्रकोपले कोशी प्रदेशको पोल्ट्री क्षेत्रमा अर्बौंको लगानी जोखिममा परेको छ । साना किसानदेखि ठूला व्यवसायीसम्म प्रभावित भएका छन् । ऋण लिएर व्यवसाय सञ्चालन गरेका किसानहरू विशेष रूपमा चिन्तित बनेका छन् ।

सरकारले प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरे पनि प्रक्रियागत ढिलाइ र बजेट अभावका कारण अन्योल बढेको छ । संक्रमण फैलिन नदिन प्रशासनले प्रभावित क्षेत्र सिल गर्नुका साथै कुखुरा, मासु, अण्डा तथा दानाको ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया