ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक प्रचारप्रति नबिल बैंकको खण्डन 'विश्वसनियता माथि टंक दाहालको आक्रमण'
- BFIS News
- 2026 Apr 24 15:57
काठमाडौं । नबिल बैंक लिमिटेड ले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफ्ना ग्राहकहरूको गोपनीयता भंग गरेको भन्ने आरोपप्रति गम्भीर आपत्ति जनाउँदै ती सबै दाबीलाई आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रचारप्रसारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास गरेको जनाएको छ।
मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिक मा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबारको विवरण’ उल्लेख गरिएको सन्दर्भलाई तोडमोड गर्दै बैंकमाथि अनावश्यक आरोप लगाइएको बैंकले जनाएको छ। उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा भएका कारोबार विवरण समावेश भए पनि केही व्यक्तिहरूले नियोजित रूपमा नबिल बैंकलाई मात्र लक्षित गरी दुष्प्रचार गरेको बैंकको भनाइ छ।
बैंकका अनुसार कुनै पनि ग्राहकको व्यक्तिगत वा वित्तीय विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया अन्तर्गत माग गर्ने नियामकीय तथा अनुसन्धानकारी निकाय बाहेक अन्य कसैलाई उपलब्ध गराउने व्यवस्था छैन। “बैंकले यस्तो कुनै कार्य गरेको छैन र गर्ने पनि छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमार्फत प्रत्येक ग्राहकसम्बन्धी सूचना कसले, कहिले र कुन प्रयोजनका लागि प्रयोग गर्यो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रूपमा राखिने जानकारी दिएको छ। यसले कुनै पनि अनधिकृत पहुँच वा दुरुपयोग भएमा सजिलै पहिचान गर्न सकिने बैंकको दाबी छ।
चार दशकभन्दा बढीको अनुभव बोकेको नबिल बैंकले प्रचलित कानून, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै ग्राहकको गोपनीयता संरक्षणमा प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ। बैंकिङ गोपनीयता नै बैंकिङ नैतिकताको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै उच्चतम मापदण्ड अपनाइएको पनि जनाएको छ।
यसैबीच, सामाजिक सञ्जालमा सक्रिय टङ्क दाहालले बैंकविरुद्ध भ्रामक धारणा फैलाएको भन्दै विश्लेषकहरूले आलोचना गरेका छन्। अमेरिका बसोबास गर्दै आएका दाहालले कान्तिपुर दैनिकमा प्रकाशित समाचारकै आधारमा बैंकले गृहमन्त्री सुदन गुरुङको विवरण सार्वजनिक गरेको आरोप लगाए पनि त्यसको कुनै प्रमाण प्रस्तुत गरेका छैनन्।
विश्लेषकहरूका अनुसार पछिल्लो समय प्रमाणविहीन समाचार तथा धारणा निर्माणले संवेदनशील बैंकिङ क्षेत्रमै नकारात्मक प्रभाव पार्न थालेको छ। सार्वजनिक व्यक्तित्वहरूले तथ्य र प्रमाणबिना टिप्पणी गर्दा समाजमा भ्रम फैलिने र संस्थागत विश्वासमा आँच पुग्ने खतरा बढेको उनीहरूको भनाइ छ।
बैंकले यस्ता दुष्प्रचारमा संलग्न व्यक्ति तथा निकायलाई तथ्यहीन सामग्री प्रसारण नगर्न चेतावनी दिँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी कारबाही अगाडि बढाउन सकिने जनाएको छ।
बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता अप्रमाणित सूचना र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै सुरक्षित, विश्वसनीय र उच्चस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)




प्रतिक्रिया