बेलिब्रिज हटाइँदै, खोटाङ–तराई सिधा यातायात पुनः अवरुद्ध हुने
- BFIS News
- 2026 Apr 29 13:48
खोटाङ, वैशाख १६ गते। खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीस्थित बंशिलाघाट र फोक्सिन्टारका अस्थायी बेलिब्रिज हटाउने तयारी गरिएको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि दुवै स्थानका बेलिब्रिज वैशाख मसान्तभित्र हटाइने जनाइएको छ। बेलिब्रिज हटाइएपछि खोटाङ र तराईबीचको सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ।
सुनकोशी नदीमा पानीको सतह बढेसँगै बंशिलाघाटमा जडान गरिएको बेलिब्रिज हटाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले जानकारी दिनुभयो। उक्त स्थानमा गत माघ २४ गते पहिलो पटक बेलिब्रिज जडान गरी सवारी सञ्चालनमा ल्याइएको थियो।
यस्तै, फोक्सिन्टारस्थित बेलिब्रिज पनि वैशाख मसान्तपछि हटाइने गाईघाट–दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी सुमन गोलेले बताउनुभयो। बेलिब्रिज हटाइएपछि जेठ १ गतेदेखि सिधा यातायात पूर्ण रूपमा अवरुद्ध हुने जनाइएको छ।
हाल दुवै नाकाबाट सवारी साधन सञ्चालन भइरहे पनि बेलिब्रिज हटाइएपछि खोटाङका नागरिक पुनः पुरानै समस्यामा पर्ने देखिएको छ। वैशाख मसान्तपछि नागरिकले कोशी नदी वारपार गर्न झोलुङ्गे पुलको सहारा लिनुपर्ने अवस्था आउनेछ भने वैकल्पिक रूपमा घुर्मी र कटारी हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता रहनेछ।
बंशिलाघाटस्थित बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोड्दै पहिलो पटक सिधा सडक सञ्जाल उपलब्ध गराएको थियो। यसले वराहपोखरी गाउँपालिका–५ पौवासेरा (खोटाङ) र चौदण्डीगढी नगरपालिका–१ (उदयपुर) लाई जोडेको थियो। यसबाट जन्तेढुङ्गा, वराहपोखरी र खोटेहाङ गाउँपालिकाका साथै भोजपुरका केही क्षेत्रका नागरिकलाई अस्थायी रूपमा सहज आवतजावतको सुविधा पुगेको थियो।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयले १ करोड ८७ लाख रुपैयाँमा खरिद गरेको बेलिब्रिज गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालिले करसहित ५७ लाख रुपैयाँमा जडान गरेको हो। सम्झौताअनुसार सोही कम्पनीले वैशाख मसान्तसम्म बेलिब्रिज हटाउनेछ।
उक्त स्थानमा स्थायी मोटरेबल पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँ लागतमा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ गते कालिका–वेदांसी जेभीसँग सम्झौता गरिएको थियो। तर पुल निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ।
यसैगरी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिन्टारस्थित पक्की पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो। बाढीले बगाएको उक्त पुलको पुनर्निर्माण प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत पर्ने दिक्तेल–फोक्सिन्टार–गाईघाट सडक पूर्वी सहर जाने छोटो दूरीको मार्ग हो। आर्यान कन्स्ट्रक्सन मल्टिपर्पोज कम्पनीले ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा बेलिब्रिज जडान तथा हटाउने ठेक्का लिएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया