NIMB Header 2
Nepal Life

सेयर बजार सुधारकालागि अर्जुन दाहालले दिए १० सुझाव, उधारो कारोबार बन्ददेखि ई-भोटिङसम्म

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 15:06
सेयर बजार सुधारकालागि अर्जुन दाहालले दिए १० सुझाव, उधारो कारोबार बन्ददेखि ई-भोटिङसम्म
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तय गर्न सरोकारवालासँग राय/सुझाव माग गरेको छ। बोर्डले बजारलाई अझ पारदर्शी, सुरक्षित र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित सुझाव संकलन प्रक्रिया अघि बढाएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

यसै सन्दर्भमा बजार विश्लेषक तथा सहारा इन्भेष्टर एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन दाहालले धितोपत्र बजार सुधारका लागि विभिन्न व्यावहारिक सुझावहरू प्रस्तुत गरेका छन्। उनले विशेषगरी सेयर बिक्रेताले ब्रोकरमार्फत भुक्तानी समयमै पाउनुपर्ने विषयलाई प्राथमिकतामा राख्दै हाल देखिएको ढिलासुस्ती अन्त्य गर्नुपर्ने बताएका छन्।

दाहालले बजारमा हुने गैरकानुनी उधारो कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार यस्ता गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाउने र लगानीकर्ताको विश्वास कमजोर पार्ने जोखिम रहन्छ।

त्यस्तै, ब्रोकर खातामा रहेको लगानीकर्ताको रकमको बीमा गरिनुपर्ने व्यवस्था आवश्यक रहेको उनले बताएका छन्। यसले लगानीकर्ताको पूँजी सुरक्षामा थप विश्वास सिर्जना गर्ने उनको भनाइ छ।

नयाँ लगानीकर्ताका लागि ब्रोकर खाता खोल्दा कारोबार प्रक्रिया, कमिसन संरचना, सेटलमेन्ट प्रणाली तथा सम्भावित जोखिमसम्बन्धी विस्तृत जानकारी समेटिएको बुकलेट उपलब्ध गराउनुपर्ने सुझाव पनि उनले दिएका छन्। यसले बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्तालाई सूचित निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ।

दाहालले ‘आज किनेको सेयर आजै बेच्न पाउने’ (T+0) प्रणाली लागू गर्नुपर्ने प्रस्ताव राख्दै कारोबार प्रणालीलाई थप लचिलो बनाउनुपर्ने बताएका छन्। साथै, सेयर बिक्रीपछि EDIS स्वतः हुने व्यवस्था गर्नुपर्ने, लाभांश ब्रोकर खातामै जम्मा हुने र त्यसको स्पष्ट रेकर्ड राखिनुपर्नेमा पनि उनले जोड दिएका छन्।

यस्तै, लगानीकर्ताको पोर्टफोलियो व्यवस्थापन सहज बनाउन स्वतः औसत लागत गणना हुने प्रणाली विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्। हकप्रद सेयर निष्कासनसम्बन्धी सूचना सम्बन्धित सेयरधनीलाई SMS तथा इमेलमार्फत पठाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

त्यसैगरी, मेरोसेयर वा अन्य अनलाइन प्रणालीमार्फत कम्पनीका सञ्चालकको निर्वाचनमा भोट दिन पाउने व्यवस्था मिलाउनुपर्ने उनले बताएका छन्। यसले लगानीकर्ताको सहभागिता र कर्पोरेट सुशासनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

सेबोनले प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने जनाउँदै सरोकारवालाको सक्रिय सहभागिताले धितोपत्र बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया