लम्कीचुहा प्रादेशिक अस्पतालमा प्रदेश सरकारका कर्मचारी खटाइयो
- BFIS News
- 2026 Apr 29 15:18
धनगढी, वैशाख १६ गते। कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी खटाएको छ।
सर्वोच्च अदालतले प्रदेश सरकारको पक्षमा निर्णय गरेसँगै प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेपछि सरकारले दुई जना कर्मचारी पठाएको हो। निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेशप्रसाद यादव र छैटौँ तहका लेखा अधिकृत गणेश विष्टलाई खटाइएको छ। वैशाख १५ गतेको सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयअनुसार यादव र सोही मितिको आर्थिक मामिला मन्त्रालयको निर्णयअनुसार विष्टलाई कामकाजका लागि पठाइएको हो।
यसअघि वैशाख १४ गते अस्पताल विवादसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। चैत्र २४ गते लम्कीचुहा नगरपालिकाले उक्त विवादमा अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
सर्वोच्च अदालतको निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनको प्रक्रिया अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ भने १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया