हावाहुरी पीडित मुसहर समुदायलाई लायन्स क्लबद्वारा राहत वितरण
- BFIS News
- 2026 Apr 29 15:21
लहान, वैशाख १६ गते। हावाहुरीबाट प्रभावित लहान नगरपालिका–२१ क्लाबञ्जरका मुसहर समुदायलाई लहानका विभिन्न लायन्स क्लबहरूले सामूहिक रूपमा राहत वितरण गरेका छन्।
लायन्स क्लब अफ फूलवारी, लायन्स क्लब अफ सिटी, लायन्स क्लब अफ सनसाइन र लायन्स क्लब अफ बुद्धले संयुक्त रूपमा २५ घरपरिवारलाई राहत उपलब्ध गराएका हुन्। प्रत्येक परिवारलाई ३० केजी चामल, ५ केजी आलु, २ केजी मटर, २ केजी नुन, १ लिटर खानेतेल, ओछ्याउने तथा बिछ्याउने तन्ना एक–एक थान र एक थान गुन्द्री वितरण गरिएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका लहानका चारवटै क्लबले विपद्का बेला निरन्तर सहयोग गर्दै आएको लायन्स क्लब अफ फूलवारीका अध्यक्ष काशिन्द्र प्रसाद यादवले बताउनुभयो।
गत वैशाख ५ गते आएको हावाहुरीका कारण ४२ घरपरिवार रहेको उक्त मुसहर बस्तीमध्ये २५ घरमा क्षति पुगेको थियो। हावाहुरीले घरका जस्तापाता उडाउनुका साथै खाद्यान्नसमेत नष्ट गरेपछि समुदाय समस्यामा परेको थियो। घटनापछि लहान नगरपालिकाले पहिलो चरणमा खाद्यान्न राहत वितरण गरेको थियो।
बेघर भएका मुसहर समुदायका लागि घर निर्माणमा आर्थिक सहयोग गरिने प्रतिबद्धता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र वडा नं. २१ का वडाध्यक्ष राजकुमार यादवले व्यक्त गरेका छन्। बस्तीका अधिकांश परिवार सुकुम्बासी भएकाले वर्षायाम नजिकिँदै गर्दा सुरक्षित आवासको आवश्यकता रहेको भन्दै पीडितहरूले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग सहयोगको आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया