NIMB Header 2
Nepal Life

भन्सार अवरोधपछि एमआरपी नियममा संशोधन, अब गोदाममै लेबल टाँस्न पाइने

NMB Bank
  • BFIS News
  • 2026 Apr 30 12:03
भन्सार अवरोधपछि एमआरपी नियममा संशोधन, अब गोदाममै लेबल टाँस्न पाइने
United Ajod

काठमाडौं । आयातित वस्तुमा भन्सार नाकामै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा टाँस्नुपर्ने व्यवस्था कार्यान्वयनमा समस्या आएपछि सरकारले उक्त प्रावधान संशोधन गरेको छ।

Shikhar
Nepal Life
NIMB

नयाँ व्यवस्थाअनुसार अब व्यापारीले भन्सारमै लेबल टाँस्नु नपर्ने भएको छ।

वैशाख १५ गतेदेखि लागू गरिएको कडा नियमका कारण देशभरका प्रमुख भन्सार नाकामा मालवाहक सवारी साधन रोकिँदा जाँचपास प्रक्रिया अवरुद्ध भएको थियो। त्यसपछि भन्सार विभाग ले व्यवस्था खुकुलो बनाएको हो।

संशोधित प्रावधानअनुसार आयातकर्ताले भन्सारमा वस्तुको एमआरपी स्वघोषणा गर्न सक्नेछन्। साथै, भन्सारबाट सामान छुटाएपछि बजारमा पठाउनु अघि आफ्नै गोदाममा एमआरपी लेबल टाँस्ने प्रतिबद्धता जनाएपछि मात्रै सामान पास हुने व्यवस्था गरिएको छ।

विशेषगरी उद्योगका लागि आवश्यक कच्चा पदार्थ, मेसिनरी उपकरण तथा छिट्टै नासिने फलफूल र तरकारीजस्ता वस्तुहरूको जाँचपासमा कठिनाइ देखिएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

यसअघि वाणिज्य विभागले चैत ३० गते जारी गरेको सूचनाअनुसार वैशाख १५ गतेदेखि आयातित सबै तयारी वस्तुमा नेपाली वा अंग्रेजी भाषामा एमआरपीसहित विवरण उल्लेख भएको लेबल अनिवार्य गरिएको थियो। तर नियम कार्यान्वयन सुरु भएसँगै वीरगञ्ज, भैरहवा, विराटनगर र रसुवागढीजस्ता मुख्य नाकामा सयौं कन्टेनर रोकिँदा आपूर्ति प्रणाली प्रभावित भएको थियो।

व्यापारीहरूले विदेशी उत्पादकले नेपालका लागि छुट्टै मूल्य उल्लेख गरी प्याकेजिङ नगर्ने, ढुवानी तथा विनिमय दरका कारण लागत फरक हुने, र भन्सारमै प्रत्येक वस्तुमा लेबल टाँस्ने पूर्वाधार अभाव रहेको जस्ता समस्या औंल्याउँदै विरोध गरेका थिए।

सरकारले प्रारम्भमा कडा रूपमा नियम कार्यान्वयन गर्ने र उल्लंघन गरेमा जरिवाना गर्ने अडान लिएको भए पनि भन्सार प्रणाली अवरुद्ध भएपछि व्यावहारिक विकल्प अपनाइएको हो। नयाँ व्यवस्थापछि भन्सारमा अड्किएका सामान क्रमशः छुट्ने अपेक्षा गरिएको छ।

भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमार्फत एमआरपी सम्बन्धी प्रावधानलाई थप स्पष्ट र सहज बनाउने तयारी भइरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया