इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन पक्राउ
- BFIS News
- 2026 May 06 12:20
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित इन्द्रचोकमा रहेको एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने समूहका तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले गत वैशाख १७ गते इन्द्रचोकस्थित उक्त ज्वेलरी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेका थिए। सो क्रममा पसलमा रहेकी एक महिलाले साहसिक प्रतिकार गर्दै उनीहरूलाई भगाएकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा भाइरल बनेको थियो।
अनुसन्धानका क्रममा यो समूह यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। गत पुस २१ गते काठमाडौं–२५ मांसाङ गल्लीस्थित एक होलसेल पसलमा उनीहरूले पेस्तोल देखाएर सुन, नगद तथा अन्य सामग्री लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। सो घटनामा २ तोला सुनको सिक्री, ४ लाख रुपैयाँ नगद, २ थान मोबाइल र सीसीटीभी उपकरण समेत लुटिएको खुलेको छ।
पक्राउ परेकाहरूको साथबाट एक थान चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन, एक थान गोली, एक थान नक, घटनामा प्रयोग भएका कपडा तथा स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया