सेबोन अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टको राजीनामा, दाईको आवेदनले पछाडी हटे
- BFIS News
- 2026 May 07 18:21
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरिएको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका थिए ।
तर, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि सेबोन अध्यक्ष पदका लागि आवेदन दिएपछि गुणाकर भट्टले समितिबाट अलग हुने निर्णय गरेका हुन् । गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ पर्छन् ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत सिफारिस समितिले प्राप्त आवेदनमध्येबाट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ । सरकारले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई अध्यक्षमा नियुक्त गर्ने प्रावधान रहेको छ ।
गुणाकर भट्टको राजीनामापछि अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ । सेबोन अध्यक्ष पदका लागि कुल ४७ जनाले आवेदन दिएका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया