रिलायबल नेपाल लाइफको नाफा ४७ करोड नाघ्यो: इपिएस १३.३८ रुपैयाँ, जीवन बीमा कोष १६ अर्ब माथि
- BFIS News
- 2026 May 13 11:19
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ५७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। चालु आवको चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा यस्तो आर्जन ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी बढेर ५ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल आम्दानी ४ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ रहेको थियो। यस्तै, कुल खर्च पनि वृद्धि भई ५ अर्ब २ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ३ अर्ब ३१ करोड ८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) भने घटेको छ। गत आवको तेस्रो त्रैमाससम्म १३ रुपैयाँ ३८ पैसा रहेको ईपीएस चालु आवमा घटेर १२ रुपैयाँ ७ पैसामा सीमित भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.६१ गुणा कायम भएको छ।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर २४ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति २२ अर्ब ४ करोड ३१ लाख रुपैयाँ रहेको थियो। कम्पनीको जगेडा कोष पनि बढेर ६८ करोड ३० लाख रुपैयाँ पुगेको छ।
५ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २७ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। यसैगरी, कम्पनीको जीवन बीमा कोष १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सोल्भेन्सी अनुपात २.५४ गुणा कायम रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया