आर्थिक सर्वेक्षण २०८२/८३: गरिबी दर घट्दा आयु बढ्यो, कृषि उत्पादनमा गिरावट
- BFIS News
- 2026 May 27 15:01
काठमाडौं । नेपालमा निरपेक्ष तथा बहुआयामिक गरिबी दरमा कमी आएको छ भने नागरिकको औसत आयु बढेको पाइएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार स्वास्थ्य, शिक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधारका संकेत देखिए पनि कृषि क्षेत्रको वृद्धि भने कमजोर बनेको छ।
संघीय संसदमा अर्थमन्त्री Swarnim Wagle ले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ। बहुआयामिक गरिबी दर पनि घटेर १७.४ प्रतिशतमा सीमित भएको उल्लेख गरिएको छ। स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत थियो। धान रोपाइँको समयमा तराई क्षेत्रमा खडेरी र भित्र्याउने बेला अत्यधिक वर्षा भएका कारण उत्पादनमा असर परेको उल्लेख गरिएको छ। यस वर्ष धान उत्पादन ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।
कुल गार्हस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान बढ्दै गएको र कृषि क्षेत्रको हिस्सा क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ।
शिक्षातर्फ १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको छ।
सार्वजनिक संस्थानतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ वटा नाफामा रहेका छन्। १६ वटा घाटामा छन् भने २ वटा बन्द अवस्थामा रहेका छन्। अघिल्लो वर्ष २८ वटा संस्थान नाफामा थिए। सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ सेयर र ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी रहेको छ।
सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या ३६ लाख ४१ हजार पुगेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध भएका छन्।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख नाघेको छ। चालु वर्षमा २ लाख ७३ हजार जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन्।
स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर घटेर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ भने बाल मृत्युदर ३१ कायम रहेको छ। स्वास्थ्य बीमामा आबद्ध नागरिकको संख्या २१ लाख ४८ हजार पुगेको छ। सरकारी अस्पतालको संख्या ८ हजार ९७६ पुगेको सर्वेक्षणमा उल्लेख छ।
पूर्वाधार तथा सञ्चारतर्फ देशभर सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ।
ऊर्जा क्षेत्रमा ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ। भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
उद्योग विभाग र लगानी बोर्डमार्फत चालु आर्थिक वर्षमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने तथा उनीहरूको औसत बसाइ अवधि १६.३४ दिन पुग्ने अनुमान गरिएको छ।
बैंक तथा वित्तीय संस्थामा फागुनसम्म ६ करोड २० लाख निक्षेप खाता र २० लाख ४० हजार कर्जा खाता पुगेका छन्। मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ करोड पुगेको छ। निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ। बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत पुगेको छ।
पुँजी बजारतर्फ नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको २६ प्रतिशत बराबर रहेको सर्वेक्षणले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)
.jpg)
.jpg)






प्रतिक्रिया