स्वास्थ्य क्षेत्र सुधारका लागि आधारभूत अस्पताल विस्तार
- BFIS News
- 2026 May 29 18:42
सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त लक्ष्य पूरा गर्ने बताउनुभएको हो।
आधारभूत अस्पताल निर्माणका लागि सरकारले पाँच अर्ब ९० करोड रुपियाँ विनियोजन गरेको छ। बजेट वक्तव्यमा मानव विकास सूचकाङ्क कम भएका प्रत्येक प्रदेशका एक–एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने उल्लेख छ। साथै, निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्साङ्कन (म्यापिङ) गरेर मात्र निर्माण अघि बढाइने जनाइएको छ।
सङ्घीय विशिष्टिकृत अस्पतालहरूमा जलन उपचार सेवा विस्तार गरिने र जलनको सघन उपचारका लागि वीर अस्पताल तथा कीर्तिपुर अस्पतालको क्षमता विकास गरिने बजेटमा उल्लेख छ।
त्यस्तै, मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालहरूमा निःशुल्क गर्ने घोषणा गरिएको छ।
नागरिकस्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ।
तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिने बजेटमा उल्लेख छ।
महामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिनेछ। साथै, देशभित्र उत्पादन तथा आपूर्ति हुने औषधि, निदानात्मक सामग्री तथा अन्य स्वास्थ्यजन्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ स्थापना गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया