विधान संशोधनको पक्षमा इप्पानभित्र दबाब बढ्दो, संस्थालाई कमजोर हुन नदिने खतिवडाको दाबी
- BFIS News
- 2026 Jun 09 13:24
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले संस्थाको वर्तमान विधान समयानुकूल नभएको भन्दै यसलाई संशोधन गरी सबै पदमा खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले ऊर्जा क्षेत्र विस्तार भएसँगै संस्थाभित्र अनुभवी र सक्षम व्यक्तिहरूको संख्या बढेकाले नेतृत्वमा पुग्ने बाटो सहज बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले इप्पानको विधान विगतमा क्षेत्र सानो र सदस्य संख्या सीमित रहेको अवस्थामा तयार पारिएको स्मरण गराउँदै अहिलेको परिवर्तित परिस्थितिअनुसार संशोधन आवश्यक भएको बताए। उनका अनुसार हालको व्यवस्थाले बाहिरबाट आएका योग्य सदस्यहरूलाई नेतृत्व तहमा पुग्न लामो समय कुर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
खतिवडाले आफू नेतृत्व गरिरहेको समूहले सबै पदहरू खुला राखेर लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने व्यवस्था गर्न माग गरिरहेको बताए। उनले विधान संशोधनको पक्षमा संस्थाका अधिकांश सदस्यहरूको समर्थन रहेको दाबी गरे।
विधान संशोधनको विषयमा अर्को पक्षले कानुनी तथा वैधानिक जटिलता देखाउँदै संशोधनलाई आगामी अधिवेशनपछि मात्र लागू गर्नुपर्ने तर्क गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यसलाई पद सुरक्षित गर्ने प्रयासका रूपमा व्याख्या गरे। “हामी पदका लागि होइन, संस्थागत पद्धतिको विकासका लागि खुलेको प्रतिस्पर्धा चाहिरहेका छौं,” उनले भने।
उनले संस्थाभित्रको विवादलाई व्यक्तिगत पदको प्रतिस्पर्धाका रूपमा नभई संस्थागत सुधारको बहसका रूपमा बुझ्न आग्रह गरे। सबै पद खुला गरिए पनि सहमतिका आधारमा नेतृत्व चयन गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो।
इप्पानभित्र देखिएको मतभेदका कारण संस्था कमजोर हुने आशंका अस्वीकार गर्दै खतिवडाले दुवै पक्षका सदस्यहरू जिम्मेवार रहेको बताए। चुनाव भए पनि परिणामलाई सबैले स्वीकार गरेर संस्थाको हितमा मिलेर काम गर्ने वातावरण रहेको उनको दाबी छ।
“चुनावसम्म प्रतिस्पर्धा हुन्छ, त्यसपछि सबै साथीहरू मिलेर ऊर्जा क्षेत्रको हितमा काम गर्छौं,” उनले भने, “संस्थालाई कमजोर हुन दिँदैनौं, बरु अझ मजबुत बनाउने लक्ष्य छ।”
8आफ्नो समूह विधान संशोधनको पक्षमा रहेको र अधिकांश सदस्यको समर्थन प्राप्त भएको दाबी गर्दै खतिवडाले हाल इप्पानमा करिब ७०० सदस्य रहेको उल्लेख गरे। उनले संस्थाका सदस्यहरूको प्रमुख चाहना सबै पदमा खुला प्रतिस्पर्धा सुनिश्चित गर्नु रहेको बताए।
खतिवडाले विवादलाई बलपूर्वक अगाडि बढाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै लोकतान्त्रिक प्रक्रिया, संवाद र सहमतिमार्फत समाधान खोजिनुपर्नेमा जोड दिए। उनले संस्थाका सबै पक्ष जिम्मेवार भएकाले अन्ततः साझा समझदारीबाटै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)




प्रतिक्रिया