अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, २४ घण्टाभित्र सहमति हुन सक्ने
- BFIS News
- 2026 Jun 14 06:54
काठमाडौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको कूटनीतिक प्रयास निर्णायक चरणमा पुगेको छ।
वार्ताका प्रमुख मध्यस्थकर्ता पाकिस्तानले आगामी २४ घण्टाभित्र शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्ने संकेत दिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीचको शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति भइसकेको दाबी गर्दै इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको बताएका छन्। उनका अनुसार सम्झौतापछि प्राविधिक तहका थप छलफलहरू अगाडि बढाइनेछन्।
“शान्ति अहिले जति नजिक कहिल्यै थिएन,” भन्दै शरीफले दुवै पक्ष स्थायी समाधानतर्फ अग्रसर रहेको उल्लेख गरेका छन्।
यद्यपि, इरानले सम्झौता नजिक पुगेको स्वीकार गरे पनि हस्ताक्षरको समयसीमाबारे सावधानी अपनाएको छ। इरानी विदेश मन्त्रालयले वार्तामा प्रगति भएको स्वीकार गरे पनि तत्काल हस्ताक्षर हुने विषयमा आधिकारिक पुष्टि नगरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनका अनुसार अधिकांश महत्वपूर्ण विषयमा सहमति जुटिसकेको छ भने बाँकी रहेका प्राविधिक तथा प्रक्रियागत विषय टुंग्याउने काम भइरहेको छ।
सम्झौताको पूर्ण पाठ सार्वजनिक नभए पनि यसमा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने, इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने, रोक्का सम्पत्तिमा पहुँच दिने तथा आणविक कार्यक्रमबारे थप वार्ताको प्रक्रिया अघि बढाउने विषय समेटिएको बताइएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ होर्मुज सञ्चालनमा आएमा अन्तर्राष्ट्रिय तेल बजारमा स्थिरता आउनुका साथै विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.png)





प्रतिक्रिया