जेठमा राजस्व वृद्धि ठप्प, ११ महिनामा १० खर्ब ८१ अर्ब संकलन
- BFIS News
- 2026 Jun 15 12:13
काठमाडौं । चालु आर्थिक वर्षभर औसत रूपमा राजस्व संकलन बढ्दो क्रममा देखिए पनि जेठ महिनामा भने सरकारको राजस्व वृद्धिदर शून्यजस्तै बनेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार जेठ महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही महिनाको बराबर हो।
आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा पनि ९३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा अर्थ मन्त्रालयले जेठमा औसत वृद्धिदरभन्दा उच्च राजस्व उठ्ने अपेक्षा गरे पनि संकलनमा कुनै वृद्धि हुन नसकेको देखिएको छ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल १० खर्ब ८१ अर्ब रुपैयाँ (बाँडफाँटअघिको) राजस्व संकलन भएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा १० खर्ब १५ अर्ब रुपैयाँ राजस्व उठेको थियो।
यद्यपि, वार्षिक लक्ष्यको तुलनामा राजस्व संकलन अझै कमजोर देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा लक्ष्यको करिब ७१ प्रतिशत मात्र राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षमा भने १४ खर्ब १९ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ७३ प्रतिशत राजस्व संकलन भएको थियो। यसले चालु वर्षमा कुल राजस्व रकम बढे पनि लक्ष्यअनुसारको प्रगति अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ।
राजस्व संकलनमा देखिएको सुस्तताले आर्थिक गतिविधि, आयातको अवस्था तथा कर प्रशासनको प्रभावकारितासम्बन्धी प्रश्नसमेत उठाएको छ। आर्थिक वर्षको अन्तिम महिनामा लक्ष्य नजिक पुग्न सरकारमाथि राजस्व संकलन बढाउने दबाब थपिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)

.png)






प्रतिक्रिया