विश्वकप २०२६को नाममा साइबर ठगी बढ्यो, मोबाइल बैंकिङ ह्याक गरेर रकम चोरीको चेतावनी
- BFIS News
- 2026 Jun 15 18:21
काठमाडौं । विश्वकप फुटबल २०२६ नजिकिँदै जाँदा नेपालमा साइबर ठगीका नयाँ घटना देखिन थालेका छन्। प्रहरीको साइबर ब्यूरोले मोबाइल बैंकिङ ह्याक गरी रकम चोरी गर्ने गिरोह सक्रिय रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
Nepal Police Cyber Bureau का अनुसार सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत विश्वकप निःशुल्क हेर्न सकिने भन्दै आकर्षक विज्ञापन फैलाइने गरिएको छ। ती विज्ञापनमार्फत प्रयोगकर्तालाई शंकास्पद लिङ्क क्लिक गर्न वा एन्ड्रोइड इन्स्टलर फाइल डाउनलोड गर्न लगाइने पाइएको छ।
यस्ता फाइलहरू इन्स्टल गर्दा मोबाइलमा विभिन्न अनुमति मागिने र प्रयोगकर्ताले नबुझी अनुमति दिएमा ह्याकरहरूले उपकरणको नियन्त्रण लिन सक्ने जोखिम रहने ब्यूरोले जनाएको छ।
विशेषगरी .apk, .exe, .bat र .sh जस्ता फाइलमार्फत मालवेयर प्रवेश गरी बैंकिङ एपमार्फत खाताबाट रकम चोरी हुने खतरा उच्च रहेको चेतावनी दिइएको छ।
साइबर ब्यूरोले अनावश्यक एप डाउनलोड नगर्न र सामाजिक सञ्जालका अनधिकृत लिङ्कमा नपर्न आग्रह गर्दै बैंक तथा वित्तीय संस्थाको जानकारी केवल आधिकारिक स्रोतबाट मात्र लिन सुझाव दिएको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले विश्वकपको नाममा भइरहेको यस्तो ठगीप्रति सतर्क रहन र आधिकारिक स्रोत प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)

.png)







प्रतिक्रिया