नक्कली भूटानी शरणार्थी र सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ जारी, अदालतको निर्णय प्रतीक्षामा
- BFIS News
- 2026 Jun 16 14:54
काठमाडौं । काठमाडौं जिल्ला अदालत र विशेष अदालतमा मंगलबार दुई चर्चित आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा अन्तिम चरणको बहस चलिरहँदा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस भइरहेको छ।
काठमाडौं जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणको सुनुवाइ पाँच दिनदेखि निरन्तर जारी छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जेठ २७ गतेदेखि बहस भइरहेको उक्त मुद्दामा फैसला नजिक पुगेको अदालत स्रोतले जनाएको छ।
यो प्रकरणमा नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने प्रलोभन देखाई रकम असुली गरेको आरोप छ। २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।
मुद्दा दर्ता हुँदा पक्राउ परेका १८ जनामध्ये दुई जना धरौटीमा र १६ जना थुनामा राखेर पुर्पक्ष प्रक्रिया अघि बढाइएको थियो। केही अभियुक्त पछि उच्च अदालतको आदेशबाट धरौटी वा तारेखमा रिहा भए पनि केही अझै थुनामै छन्। केही प्रतिवादी फरार अवस्थामै रहेको जनाइएको छ।
यसैबीच विशेष अदालतमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित प्रतिवादी बनाइएका व्यक्तिविरुद्ध दायर सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस भइरहेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।
सोमबार बयान प्रक्रिया पूरा हुन नसकेपछि भट्ट र अग्रवाललाई न्यायिक हिरासतमा राखिएको थियो। अदालतले थुनछेक बहसपछि प्रतिवादीलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे निर्णय गर्नेछ।
अख्तियार तथा अनुसन्धान निकायले दायर गरेको मुद्दामा दीपक भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। यस प्रकरणमा शंकर ग्रुपसँग सम्बन्धित सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि विभिन्न कम्पनी, विशेषगरी हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित रकमको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको हो।
देशका दुई प्रमुख अदालतमा एकै दिन चर्चित आर्थिक अपराधसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका कारण कानुनी तथा राजनीतिक वृत्तको ध्यान यतिबेला यी दुवै प्रकरणतर्फ केन्द्रित भएको छ। यद्यपि अदालतबाट आउने निर्णयबारे अहिले नै कुनै अनुमान गर्न नसकिने कानुन व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया