अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसद्को अवमूल्यन भएको आरोप
- BFIS News
- 2026 Jun 12 11:59
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद् र संसदीय समितिको गरिमामाथि आँच पुग्ने किसिमको शैली अपनाइएको आरोप लगाएका छन्।
शुक्रबारको बैठकमा बोल्दै पुनले बजेट तथा आर्थिक विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्रीले दिएको जवाफ संसद्प्रति जवाफदेही हुने कार्यपालिकाको भूमिकासँग मेल नखाने दाबी गरे। उनले अर्थमन्त्रीले संसद् र समितिका प्रश्नहरूको उत्तर दिने क्रममा दबाब र धम्कीको शैली प्रयोग गरेको आरोप लगाए।
पुनका अनुसार विपक्षी दलले सुरुआतमा अर्थमन्त्रीलाई शंकाको लाभ दिएको भए पनि पछिल्ला अभिव्यक्तिले संसद्को अवमूल्यन भएको महसुस गराएको छ। उनले सार्वजनिक लेखा समिति तथा आर्थिक विधेयकमाथिको छलफलका क्रममा व्यक्त भनाइप्रति गम्भीर आपत्ति रहेको बताए।
सांसद पुनले अर्थमन्त्रीले करका विभिन्न दरहरू परिवर्तन गरिएको विषय स्वीकार गरेको उल्लेख गर्दै त्यसबारे थप स्पष्टता आवश्यक रहेको धारणा राखे। संसद् र समितिप्रति कार्यपालिका जवाफदेही हुनुपर्ने संवैधानिक दायित्व रहेको उनको भनाइ थियो।
बैठकमा उनले प्रधानमन्त्रीको एक अभिव्यक्तिको विषय पनि उठाएका थिए। जेठ १७ गते राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र भौगोलिक अखण्डतासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे आफूहरूले पटक–पटक संसद्मा प्रश्न उठाएको उल्लेख गर्दै त्यसबारे प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गरे।
साथै, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग समेत पुनले गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया